अभद्र व्यवहारको आरोपमा यातायात व्यवस्था कार्यालय वीरगन्जबाट पक्राउ परेका सेवाग्राही पाँच हजार धरौटीमा रिहा भएका छन्। मंगलबार मोटरसाइकलको नामसारी गराउने क्रममा पक्राउ परेका वीरगन्ज महानगरपालिका– १२ निवासी रामकुमार महतो बिहीबार जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा रिहा भएका हुन्।
यातायात कर्मचारीको दबाबमा कार्यालयबाट पक्राउ गराएर अभद्र व्यवहार मुद्दा दर्ता गरेको भन्दै तीव्र आलोचना भएपछि वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापामगरले फाइल जिल्ला प्रशासन कार्यालयमा बुझाएका थिए।
नागरिकताको प्रतिलिपि र लाइसेन्सका आधारमा मोटरसाइकलको नामसारी गराउन गरिदिन कर्मचारीसँग अनुरोध गरेपछि फाँट प्रमुख प्रेम कार्कीले प्रहरी बोलाएर पक्राउ गरेका महतोको दाबी छ। फाँट प्रमुख कार्कीले दबाब दिएको भन्दै महतोलाई पक्राउ गराएका थिए।
नागरिक एपमा रहेका कागजातका साथै नागरिकता र लाइसेन्सका सबै प्रतिलिपि देखाउँदा पनि फाँट प्रमुख कार्कीले नामसारी हुन नसक्ने भन्दै उनलाई प्रहरीको जिम्मा लगाएको बताइएको छ। स्रोतका अनुसार यातायात कार्यालयबाट पक्राउ गरिएका सेवाग्राही महतोलाई राति सहमतिमा छाड्न नमानेपछि प्रहरीले मुद्दा चलाएको थियो।
यातायात व्यवस्था कार्यालय वीरगन्जमा काम गराउन आएका सेवाग्राहीले होहल्ला गरेपछि अभद्र व्यवहार मुद्दा चलाइएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक थापामगरको भनाइ छ। उनका अनुसार महतोले कर्मचारीलाई काम गर्न समस्या पारेकाले नियन्त्रणमा लिएर अनुसन्धान गरिएको हो।