४९ पटक पेसी स्थगितपछि थमन विक हत्या प्रकरणमा फैसला, जन्मकैद पाएका चारजनाको सजाय घट्यो, दुई नयाँ दोषी ठहर

बुधबार, १७ असार, २०८३
डिजिटल संस्करण

लगातार ४९ पटक पेसी स्थगित भएको महोत्तरीको बहुचर्चित असइ थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले आज फैसला सुनाएको छ । उच्च अदालतका कामु मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले महोत्तरी जिल्ला अदालतले असइ विक हत्या प्रकरणमा गरेको फैसला आंशिक रूपमा सदर गर्दै आंशिक रूपमा उल्ट्याएको छ।

उच्च अदालतले प्रदीप साह माझी, सञ्जयकुमार साह र मोहन ठाकुरलाई तत्कालीन मुलुकी ऐनको ज्यानसम्बन्धी महलअन्तर्गत जन्मकैदको सजाय यथावत् कायम गरेको छ । फैसलामा उनीहरूविरुद्ध चिकित्सकीय प्रमाण, किटानी जाहेरी, अनुसन्धानका क्रममा दिएका बयान, एम्बुलेन्सचालक सुशील मिश्र तथा अन्य साक्षीहरूको बयान र घटनास्थलका तस्बिरले प्रत्यक्ष संलग्नता पुष्टि गरेको छ।

फैसलामा सञ्जयकुमार साहले थमन विकमाथि आक्रमण गरिरहेको देखिने तस्बिरलाई पनि महत्त्वपूर्ण प्रत्यक्ष प्रमाणका रूपमा उल्लेख गरिएको छ । तर, जिल्ला अदालतबाट जन्मकैद सजाय पाएका निलम्बित लोसपा प्रदेश सांसद अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डेको हकमा उच्च अदालत फरक निष्कर्षमा पुगेको छ। उनीहरूले मृतकमाथि प्रत्यक्ष आक्रमण गरेको वस्तुनिष्ठ प्रमाण नदेखिए पनि मुख्य प्रतिवादीहरूको पोलयुक्त बयान र घटनाको समग्र परिस्थितिका आधारमा हत्या गराउने कार्यमा संलग्न रहेको ठहर गर्दै जनही पाँच वर्ष कैद सजाय सुनाइएको छ।

उच्च अदालतले जिल्ला अदालतबाट सफाइ पाएका पूर्वसांसद लक्ष्मी महतो र पवन कापरलाई समेत दोषी ठहर गर्दै जनही पाँच वर्ष कैद सजाय सुनाएको छ । यसरी उच्च अदालतले जिल्ला अदालत महोत्तरीको फैसला आंशिक रूपमा सदर र आंशिक रूपमा उल्टाएको छ। यो मुद्दामा महोत्तरी जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले २८ मंसिर ०८० मा फैसला सुनाएको थियो। त्यसवेला जन्मकैद सजाय पाएका अभिराम शर्मा, धर्मेन्द्र राय, रामशंकर मिश्र र सुरेश पाण्डे पुनरावेदन नगरी फरार रहेका थिए। पुनरावेदनका लागि तोकिएको ७० दिन र म्याद थाम्ने थप ३० दिन गरी एक सय दिनको अवधि सकिएपछि उच्च अदालतले कानुनी व्यवस्थाअनुसार साधक सुनुवाइ अघि बढाएको थियो।

जन्मकैदजस्ता गम्भीर सजाय भएका मुद्दामा हुने साधक सुनुवाइका क्रममा सजाय पाएकाहरूका परिवारले न्याय प्रशासन ऐन, २०७३ को दफा १०(४) बमोजिम उच्च अदालतमा निवेदन दिएका थिए। अभिराम शर्माका बुबा महेन्द्र शर्मा र रामशंकर मिश्रकी पत्नी संगीताकुमारी मिश्रले आफ्ना परिवारका सदस्य निर्दोष रहेको दाबी गर्दै ९ वैशाख ०८१ मा निवेदन दर्ता गराएका थिए।

पुनरावेदन दर्तापछि मुद्दाको सुनुवाइ अढाई वर्षसम्म विभिन्न कारणले अघि बढ्न सकेन। यस अवधिमा ४९ पटक पेसी स्थगित भएपछि अन्ततः ५०औँ पेसीमा बहुप्रतीक्षित फैसला आएको हो। 

थमन विक हत्या प्रकरण ०७२ सालको मधेश आन्दोलनसँग जोडिएको घटना हो । २५ भदौ ०७२ हेटौँडाबाट संयुक्त राष्ट्रसंघीय मिसनको परीक्षाबाट फर्किएर कार्यस्थल महोत्तरी पुगेका सशस्त्र प्रहरीका असइ थमन विक आन्दोलनका क्रममा घाइते भएका थिए। जलेश्वर अस्पतालबाट थप उपचारका लागि जनकपुर ल्याइँदै गर्दा तत्कालीन अनैठामा आन्दोलनकारीले एम्बुलेन्स रोकी उनलाई बाहिर निकालेर कुटपिट गरेका थिए। सोही आक्रमणका कारण घटनास्थलमै उनको मृत्यु भएको थियो । 

सुझावित समाचार