नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिदेखि पेट्रोल र डिजेलको मूल्य घटाएपछि वीरगन्जका पेट्रोल पम्पहरूमा कृत्रिम अभाव भएको छ।
निगमले बुधबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टीतेलमा ३० रुपैयाँ र हवाई इन्धनमा ४० रुपैयाँ मूल्य घटाएपछि यहाँका अधिकांश पेट्रोल पम्पमा ‘पेट्रोल र डिजेल छैन’ भन्ने बोर्ड झुन्ड्याइएको छ।
मूल्य समायोजनपछि पेट्रोलको मूल्य प्रतिलिटर १९७ रुपैयाँ, डिजेल तथा मट्टीतेलको १९५ रुपैयाँ र आन्तरिक हवाई इन्धनको २२९ रुपैयाँ कायम भएको छ। खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिन्डर दुई हजार ६० रुपैयाँ कायम गरिएको छ।
मध्यपूर्वमा युद्धविरामको सहमतिसँगै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि नेपाल आयल निगमले पनि मूल्य समायोजन गरेको हो।