प्रहरी चौकी बढनियारको हिरासतबाट आइतबार राति फरार भएका थुनुवा सोमबार बिहान प्रहरी चौकीमा हाजिर भएका छन्। पर्साको पर्सागढी नगरपालिका– ४, पर्शुरामपुरनिवासी २८ वर्षीय लालबाबु भन्ने मेराजुल देवान फरार भएर भोलिपल्ट आफैँ वन कार्यालयमा हाजिर भएका हुन्।
स्रोतका अनुसार काठ तस्करीको आरोपमा पक्राउ परेका उनी आइतबार राति ७–८ बजे खाना खाने समयमा हत्कडीसहित फरार भएका थिए। सो रात घरमै बसेर भोलिपल्ट आफैँ वन कार्यालयमा हाजिर भएका हुन्। डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर देवानले आइतबार फरार भएका थुनुवा सोमबार हाजिर पुष्टि गरे।
प्रहरी स्रोतका अनुसार थुनुवा फरार भएकै समयदेखि प्रहरीले खोजी कार्यलाई तीव्रता दिएपछि परिवारका सदस्यले उनलाई हाजिर गराएका थिए। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार असार १४ मा पक्राउ परेका उनीविरुद्ध सब-डिभिजन वन कार्यालय सबैयामा ३ वटा मुद्दा दर्ता रहेको देखिएपछि नियन्त्रणमा लिइएको थियो।