सुके खोलानाला, रोपाइँ गर्न समस्या

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण

मनसुन र मलको पर्याप्तता नहुँदा १५ असारसम्म देशभर १५ प्रतिशत पनि रोपाइँ हुन सकेको छैन । कृषि विभागका अनुसार हालसम्म देशभर १३.४९ प्रतिशत मात्र रोपाइँ सकिएको छ । गत वर्ष १५ असारसम्म १५.६२ प्रतिशत रोपाइँ सकिएको थियो । मध्य असारसम्म धेरै क्षेत्रफलमा रोपाइँ भइसक्नुपर्ने भए पनि मनसुन नहुँदा किसानले रोपाइँ गर्न नसकेको विभागले जनाएको छ ।

धान उत्पादनको पकेट जिल्ला कैलालीमा अत्यधिक गर्मी र लामो समयदेखि पर्याप्त पानी नपर्दा रोपाइँ गर्न समस्या भएको छ । मध्यअसारसम्म अधिकांश किसानका खेत बाँझै छन् । खडेरीले खोलानाला पनि सुकेका छन् । स्यालो ट्युबेल, बोरिङ र पम्पसेटबाट रोपाइँ भएका ठाउँमा रोपो जोगाउन मुस्किल छ । पानी नपर्दा रोपेको धान सुक्न थालेको छ । ‘बोरिङबाट रोपाइँ त गरिरहेका छौँ, तर खडेरीले रोपो सुकेको छ,’ भजनी नगरपालिका– ४, धनौराका किसान रामनारायण चौधरीले भने, ‘आइतबार राति परेको थोरै पानीले केही राहत भएको छ ।’

धनगढीमा धेरैजसो किसान रोपाइँका लागि अकासे पानी कुरिरहेका छन् । धनगढी– ६ का किसान डम्बर खड्काले पानी नपर्दा रोपाइँ गर्न नपाएको बताए । कृषि ज्ञान केन्द्रले भने स्यालो ट्युबेल, बोरिङ, पम्पसेट र सिँचाइ प्रणालीबाट करिब ४० प्रतिशत रोपाइँ सकिएको दाबी गरेको छ । पानी नपर्दा रोपो भने सुक्न थालेको केन्द्रका कृषि प्रसार अधिकृत टेकबहादुर विष्टले बताए । कैलालीमा करिब ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिन्छ । ज्ञान केन्द्रले करिब आधा क्षेत्रमा सिँचाइ सुविधा पुगेको जनाएको छ । लामो समयदेखि पानी नपर्दा कैलालीमा केही समययता गर्मी अत्यधिक बढेको छ ।

सुझावित समाचार