काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा चेकपोस्टबाट ७५ ग्राम ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भारतको दार्जिलिङ जिल्ला, सिलगुडी चम्पासारीनिवासी ३४ वर्षीया मोना राय र २६ वर्षीय पंकज बोस रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काँकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख ५३०४ नम्बरको यात्रुवाहक बसमा सवार उनीहरूलाई नियमित चेकजाँचका क्रममा पक्राउ गरिएको हो।
प्रहरीले उनीहरूको साथबाट लुकाइछिपाइ ल्याइएको ७५ ग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगरजस्तो देखिने गिलो पदार्थ बरामद गरेको जनाएको छ।
दुवैजनालाई नियन्त्रणमा लिएर लागुऔषध ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।