- रुटोको सरकारले बिहीबारदेखि सुरु हुने विरोधविरुद्ध बारम्बार चेतावनी दिँदै ठुलो संख्यामा प्रहरी तैनाथीको आदेश दिएको छ
केन्यामा हजारौँ मानिसले बिहीबार जेन–जी विरोध प्रदर्शनको दोस्रो वार्षिकोत्सव मनाउँदै गर्दा थप प्रदर्शनको तयारी गरिएको छ । दुई वर्षअघि युवा केन्यालीको एउटा सम्पूर्ण पुस्तालाई प्रेरित गर्ने आन्दोलनका क्रममा मारिएका १२० भन्दा बढी मानिसले शोक मनाइरहँदा थप प्रदर्शनको योजना तय गरेका हुन् ।
दुई वर्षअघि अर्थात सन् २०२४ मा जारी एक कर विधेयकबाट सुरु भएको युवा प्रदर्शनकारी (जेन–जी) राष्ट्रपति विलियम रुटोलाई पदमुक्त गर्ने लक्ष्य राखेर जीवनयापनको बढ्दो लागत, बेरोजगारी र सरकारी भ्रष्टाचारको विरुद्धमा परिचालित भए । आन्दोलनको दबाबमा सरकार कर विधेयकबाट पछि हट्न बाध्य भयो । विज्ञहरू भन्छन् कि तैपनि युवामा क्रोध जगाउने आर्थिक असमानतालगायत चुनौती समाधान भएका छैनन् । गत वर्ष पहिलो वार्षिकोत्सव मनाउन आयोजित एक स्मृति कार्यक्रम पनि रक्तपातपूर्ण भयो । सरकारी सेनाले विरोध प्रदर्शनमा चरम दमन गर्यो र ६० भन्दा बढी व्यक्तिको मृत्यु भयो ।
यस वर्ष रुटोको सरकारले बिहीबारदेखि सुरु हुने विरोध प्रदर्शनविरुद्ध बारम्बार चेतावनी दिएको छ । साथै भारी प्रहरी तैनाथीको आदेश दिएको छ । गत वर्षजस्तै जेन–जी प्रदर्शन बिहीबार राजधानी नैरोबीसहित देशभरका प्रमुख सहरमा फर्कने अपेक्षा गरिएको छ । त्यसो भए केन्याको जेन–जी प्रदर्शन कसरी सुरु भयो, र यस वर्ष के हुनेवाला छ ?
के हो जेन–जीको असन्तुष्टि ?
जेन–जी विरोधले नागरिक प्रतिरोधको एक विशिष्ट युगमा जरा गाडेको छ, जसको नेतृत्व १९९० को दशकको अन्त्य र २०१० को दशकको सुरुवातबिच जन्मेको पुस्ताले गर्छ । तिनीहरू प्रायः परम्परागत कार्यकर्ता र राजनीतिक दलभन्दा सामाजिक सञ्जालमार्फत व्यवस्थित हुन्छन् । जेन–जी प्रदर्शन सामान्यतया असमानता र लोकतान्त्रिक प्रतिगमन वरिपरि केन्द्रित छन् । आन्दोलनहरू वकेन्द्रीकृत, नेतृत्वहीन संरचनाद्वारा सम्पन्न भएका छन् ।
सुरुमा यो ब्रान्ड किशोरकिशोरीले नेतृत्व गर्ने विश्वव्यापी जलवायु विरोध प्रदर्शनसँग सम्बन्धित भए पनि यो लहरले २०२५ मा नेपाल, २०२४ मा बंगलादेश र २०२२ मा श्रीलंकाजस्ता देशमा सरकारलाई घुँडा टेकाएका छन् । गत वर्ष इन्डोनेसिया र फिलिपिन्समा पनि यस्तै विरोध प्रदर्शन भएका थिए । सन् २०२४ देखि केन्याको जेन–जी परिचालन पनि सबैभन्दा प्रभावकारी र व्यापक रूपमा प्रतिध्वनित विरोध आन्दोलनमध्ये एक हो ।
नयाँ कर राजस्वमा २.७ अर्ब डलर जुटाउने उद्देश्यले तयार पारिएको वित्त विधेयकको विरोधमा २०२४ मा विरोध प्रदर्शन सुरु भएको थियो । विरोधको चरम सीमामा राजनीतिज्ञहरूले जुन २५, २०२४ मा विवादास्पद विधेयक पारित गरेपछि प्रदर्शनकारीले संसद्मा आक्रमण गरे र त्यसको केही भाग जलाए । राष्ट्रपति रुटो अन्ततः दबाबको अगाडि झुके र थप संशोधनका लागि विधेयक संसद्मा फिर्ता गरे ।
रुटो सन् २०२२ मा लोकप्रियतावादी एजेन्डाका साथ सत्तामा पुगेका थिए । उनको अभियान प्लेटफर्मले कामदार वर्गका केन्यालीलाई लक्षित गर्दै जीवनयापन गर्न खोज्ने लाखौँलाई प्राथमिकता दिन ‘तलबाट माथिको दृष्टिकोण’ भन्ने कुरालाई अंगीकार गरेको थियो । यद्यपि, उनको कार्यकालमा कर बढेको छ, जसले गर्दा मुद्रास्फीति बढेको छ ।
जुन २०२५ मा हजारौँले हत्याको सम्झनामा मार्च गरेपछि विरोध प्रदर्शन फेरि सुरु भए । यसैबिच ब्लगर अल्बर्ट ओजवाङको प्रहरी हिरासतमा मृत्यु भएपछि सरकारविरोधी प्रदर्शन विस्फोटक ढंगले अगाडि बढेको थियो । ओजवाङको मृत्युले प्रहरी क्रूरता र सरकारी जवाफदेहितामाथि जनताको आक्रोशलाई पुनः जगायो । अधिकार समूह र मिडिया रिपोर्टका अनुसार यस कारबाहीमा ६० भन्दा बढी व्यक्तिको मृत्यु भयो र ५०० भन्दा बढी घाइते भए ।
यो वर्ष के हुँदै छ ?
जुन २१ मा प्रहरीद्वारा मारिएकाहरूका परिवारसहित विरोध प्रदर्शनमा भएको दमनका पीडित नैरोबी ब्याप्टिस्ट चर्चमा भेला भए र सरकारलाई नागरिकको कुरा सुन्न आह्वान गरे । ‘हामी हाम्रो राष्ट्रमा त्यो कालो मौसमको पीडा र सम्झना बोकेर हिँड्ने प्रत्येक केन्यालीको साथमा छौँ,’ केन्याको राष्ट्रिय चर्च परिषद्का महासचिव क्रिस किन्यान्जुईले स्मारक सेवापछि एक विज्ञप्तिमा भने । केन्याको मेथोडिस्ट चर्चका धर्मशास्त्री ज्याकी माकेनाले ‘केन्या अदालतमा उभिएको छ ।
युवाहरूको रगत जमिनबाट उम्लिरहेको छ । २०२४ र २०२५ को जेन जी विरोध प्रदर्शनमा हराएकाहरूको आवाज हाम्रो सडकमा गुन्जिन्छ,’ भनिन् । नैरोबीमा केही समयदेखि तनाव बढिरहेको छ । रुटोको सरकारले नयाँ वित्त ऐन, २०२६ पेस गरेको छ, जुन अर्थतन्त्र विस्तार गर्न डिजाइन गरिएको विकास–समर्थक, लगानीमैत्री कानुनको रूपमा तयार पारिएको छ । यसलाई रुटोले आक्रामक राजस्व परिचालनबाट उद्यमलाई समर्थन गर्ने र निजी क्षेत्रको लगानीलाई उत्प्रेरित गर्ने दिशामा परिवर्तन भएको बताएका छन् । उनले विधेयकको विरोधलाई अनावश्यक ‘प्रचार’ भनेका छन् ।
जुन १९ मा नैरोबीमा एक राज्य कार्यक्रममा बोल्दै राष्ट्रपतिले केन्यालीहरूलाई बिहीबार प्रदर्शन नगर्न आह्वान गरे, उनीहरूले आफ्नो दैनिक गतिविधि जारी राख्नुपर्ने र उत्पादकत्व र आर्थिक वृद्धिलाई विचार गर्नुपर्ने बताए । जुन १९ मा नैरोबीमा आयोजित एक सरकारी कार्यक्रममा बोल्दै राष्ट्रपतिले केन्यालीहरूलाई बिहीबार प्रदर्शन नगर्न आह्वान गरे, उनीहरूले आफ्नो दैनिक गतिविधि जारी राख्नुपर्ने र उत्पादकत्व र आर्थिक वृद्धिलाई विचार गर्नुपर्ने बताए ।
‘मानिसलाई सम्पत्ति नष्ट गर्न वा अराजकता वा अशान्ति निम्त्याउन परिचालन हुनेविरुद्ध सरकार मूकदर्शक बन्नेछैन्,’ उनले दोहोर्याए । ‘बालबालिकाहरू स्कुल जानेछन् किनभने स्कुल जाने उनीहरूको अधिकार हो । कामदारहरू काममा जानेछन्, किनभने यसरी हामी हाम्रो राष्ट्रको उत्पादकता बढाउँछौँ,’ उनले भने ।
वरिष्ठ विपक्षी व्यक्तित्व सियाया काउन्टीका गभर्नर जेम्स ओरेन्गोले केन्यालीहरूलाई नैरोबीमा सरकारी भवनमा मार्च र देशभरि जागरणसहित स्मृति सेवाहरूमा भाग लिन आह्वान गरे । ‘जो मार्चमा सामेल हुन सक्दैनन्, घरमै बसेर ठोस ऐक्यबद्धतामा उभिनुहोस् । हाम्रा खाली सडकको मौनता अत्याचारविरुद्धको गर्जन प्रमाण होस्,’ उनले एक्समा लेखे, ‘हामी बिर्सनेछैनौँ, हामी पछि हट्नेछैनौँ । जुन २५ मा भेटौँला !’
के विरोध प्रदर्शनका पीडितले न्याय पाउँछन् ?
गत हप्ता राष्ट्रपति रुटोले २०१७ र २०२५ को बिचमा भएका हिंसात्मक विरोध प्रदर्शनबाट प्रभावित एक हजार १०० जनालाई क्षतिपूर्ति दिन लगभग एक करोड ५० लाख डलरको कोष घोषणा गरे । ‘राष्ट्रपतिले आफूले गरेका गल्ती ढाकछोप गरिरहेका छन् । उनी हामीलाई दिइरहेका नगदका कारण हामीलाई मौन राख्न चाहन्छन्,’ गिलियन मुनयाओले भने । मुनआओका २९ वर्षीय छोरा रेक्स मसाई जुन २०२४ को विरोध प्रदर्शनमा मारिएका पहिलो व्यक्ति थिए । ‘म कतै न्याय देख्दिनँ, अपराधीलाई सजाय नदिई हामीलाई किन पैसा दिने ?’ मुनयाओले गत हप्ता नैरोबी अदालतमा एएफपीलाई भने, ‘जहाँ हत्याको बारेमा कानुनी मुद्दा चलिरहेको छ ।’
२०२४ को विरोध प्रदर्शनमा मृत्यु भएका तीनवटा घटना र २०२५ को एउटा घटना मात्र अदालतमा पुगेको छ । ती घटनामा कुनै पनि अधिकारीलाई दोषी ठहर्याइएको छैन । एम्नेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचजस्ता विश्वव्यापी अधिकार समूहले उल्लेख गरेका छन् कि २०२४ र २०२५ मा दर्जनौँ सरकारी आलोचक पनि अपहरण गरिएका थिए । अहिले उनीहरू गुमनाम छन् ।
(पत्रकार शर्मा नयाँदिल्लीमा बसेर अन्तर्राष्ट्रिय मिडियाका लागि समाचार, फिचर, विश्लेषण लेख्छन् । )
अलजजिराबाट