विराटनगर महानगरपालिकाले तीन अर्ब ५६ करोड ४७ बराबरको बजेट प्रस्तुत गरेको छ । आगामी आर्थिक वर्ष ०८३/८४ का लागि विराटनगर महानगरले बुधबार आयोजित १८औँ नगरसभामा कुल तीन अर्ब ५६ करोड ४७ बराबरको बजेट प्रस्तुत गरेको हो ।
उपप्रमुख शिल्पा निरौला कार्कीले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटअनुसार व्ययतर्फ कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ७६ करोड २८ लाख ७८ हजार, संघीय सरकार चालू अनुदानतर्फ ७३ करोड २९ लाख र प्रदेश सरकार ससर्त चालू अनुदानतर्फ चार करोड एक लाख २४ हजार र पुँजीगत अनुदानतर्फ संघीय सरकारबाट ५६ लाख प्रदेश, सरकारबाट ६ करोड ६३ लाख अनुमान गरिएको छ ।
विराटनगर महानगरले आगामी आर्थिक वर्षका लागि विपत् व्यवस्थापन र वातावरण संरक्षणमा दुई करोड ५९ लाख ६० हजार, सुशासनमा दुई करोड ९३ लाख ६० हजार, पूर्वाधार विकासमा एक अर्ब ६० करोड ३९ लाख, आर्थिक विकासतर्फ तीन करोड २६ लाख ३७ हजार र सामाजिक विकासतर्फ २६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
प्रस्तुत प्रस्तावित बजेटअनुसार विराटनगर महानगरले आगामी आर्थिक वर्षका लागि संघीय सरकार वित्तीय समानीकरण अनुदानबाट ३३ करोड ४३ लाख, ससर्त चालू अनुदानबाट ७३ करोड २९ लाख र ससर्त पुँजीगत अनुदानबाट ५६ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
यस्तै, प्रदेश सरकारको समानीकरण अनुदानबाट तीन करोड ६२ लाख ५० हजार, ससर्त चालू अनुदानबाट चार करोड एक लाख २४ हजार र ससर्त पुँजीगततर्फ ६ करोड ६३ लाख रुपैयाँ आय हुने अनुमान गरेको छ । यसैगरी आन्तरिक आयततर्फ ९२ करोड ५६ लाख १८ हजार रुपैयाँसहित जम्मा एक अर्ब २७ करोड २० लाख आठ हजार, विभिन्न संघसंस्थाको अनुदानबाट एक करोड १६ लाख र बैंक मौज्दातबाट १४ करोड रुपैयाँ प्राप्त हुने अनुमान प्रस्ताव गरेको छ ।