हुम्लाको सिमकोट गाउँपालिका– ७, धारापोरीस्थित ताङलाथुङ–हिल्सा सडकखण्डमा जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन्। कर्णाली प्रदेश ०२–००१ ज ०७०१ नम्बरको जिप सडकबाट करिब एक सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा जिपचालक सुर्खेतको बराहताल गाउँपालिका– ७ निवासी २८ वर्षीय रमेश सिजापति घाइते भएका छन्। त्यसैगरी सिमकोट गाउँपालिका–७, ताङलाथुङका २८ वर्षीय गंगबहादुर शाही, ५५ वर्षीया गंगसरा शाही र ४० वर्षीय गोकुल शाही पनि घाइते भएका छन्।
घटनालगत्तै स्थानीयवासी तथा सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सिमकोट पठाइएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।