एनआइसी एसिया बैंक लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले हकप्रद सेयर निष्कासन गर्नका लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्कासक तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । निष्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख वित्तीय अधिकृत रूपेश लुइँटेल र एनआइएमबि एसका नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन् ।
बैंकले हाल कायम चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार नौ सय २२ रुपैयाँबराबरको प्रतिकित्ता एक सय रुपैयाँका दरले २ः१ अनुपातमा सात करोड ४५ लाख ८७ हजार आठ सय ३५ कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ ।
हकप्रदबाट प्राप्त हुने रकम बैंकको पुँजी संरचना सुदृढ बनाउन, पुँजी पर्याप्तता अनुपात थप मजबुत बनाउन तथा बैंकको दीर्घकालीन व्यावसायिक विस्तार एवं रणनीतिक योजना कार्यान्वयन गर्न उपयोग गर्ने योजना रहेको बताइएको छ ।