मोरङको विराटनगरमा एक लागुऔषध प्रयोगकर्ताले धारिलो हतियार प्रहार गर्दा दुई प्रहरीसहित तीनजना घाइते भएका छन् । विराटनगर– १ मा भाडाको घरमा बस्दै आएका २९ वर्षीय रुविण कार्कीले आइतबार दिउँसो आफूलाई सुधार केन्द्र लान खोजेको भन्दै धारिलो हतियार प्रहार गर्दा उद्धार गर्न पुगेका दुई प्रहरीसहित तीनजना घाइते भएका हुन् ।
युवकको आक्रमणबाट प्रहरी सहायक निरीक्षक भोजराज रेग्मी, प्रहरी जवान हिमाल घिमिरे र सुधार गृहका कर्मचारी सन्तोष सापकोटा घाइते भएका छन् । टाउकोमा गहिरो चोट लागेका उनीहरूको नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचार भइरहेको मोरङ प्रहरी प्रवक्ता डिएसपी मकेन्द्रकुमार मिश्रले बताए ।
स्थानीयका अनुसार रामेछाप घर भएका कार्की आमासँगै लामो समयदेखि विराटनगर– १ मा भाडाको घरमा बस्दै आएका थिए । आफन्तको आग्रहमा आइतबार दिउँसो युवकलाई काठमाडौंस्थित सुधारगृह पठाउने तयारी थियो । त्यसको प्रतिवादमा कार्कीले उद्धार गर्न आएका प्रहरी र सुधार केन्द्रका कर्मचारीलाई खाटमुनि लुकाएर राखेको धारिलो हतियार प्रहार गरेका थिए ।
घटनापछि उनलाई नियन्त्रणमा लिन प्रहरीलाईसमेत सकस परेको थियो । ठुलो संख्यामा परिचालन भएको प्रहरीले निकै प्रयास गरेपछि मात्र अलग्गै भर्याङ प्रयोग गरेर झ्यालबाटभित्र छिरेर उनलाई आइतबार दिउँसो साढे ३ बजेतिर नियन्त्रणमा लिएको छ ।