भारतबाट नेपाल भ्रमणका लागि आएका पर्यटकलाई नकारात्मक असर पार्ने खालका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न आमसर्वसाधारणलाई पर्यटन व्यवसायीहरूले आग्रह गरेका छन्।
होटेल संघ पोखराले आइतबार भैरहवामा आयोजना गरेको पर्यटन प्रवर्द्धनसम्बन्धी छलफल तथा अन्तर्क्रियामा सहभागी व्यवसायीले नेपाल भ्रमणमा रहेका पर्यटकहरूका ससाना कमीकमजोरीलाई सामाजिक सञ्जालमा राखेर नकारात्मक असर पार्ने खालका गतिविधि नगर्न आग्रह गरेका हुन्।
‘जाउँ है पोखरा’ अभियानअन्तर्गत पर्यटकीय राजधानी पोखरासँग चितवन, लुम्बिनी र पाल्पालाई जोड्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमका वक्ताहरूले नेपालको पर्यटन क्षेत्रमा भारतीय पर्यटकको योगदान उच्च रहेको जनाउँदै पर्यटकलाई थप आकर्षित गर्ने खालका पर्यटकीय गतिविधि सञ्चालन गर्न आग्रह गरे।
सामाजिक सञ्जालहरूमा भारतीय पर्यटकलाई अमानित गर्ने खालका गतिविधि हुन थालेको भन्दै पर्यटन व्यवसायीहरूले चिन्ता व्यक्त गरे। भारतीय पर्यटकलाई नेपाल आउँदा सुरक्षाजाँचलगायतका विषयहरूमा सरकारले अझ सहजीकरण गरेर नेपाल प्रवेश गर्न थप सहज वातावरण बनाउनुपर्नेमा जोड दिए।
होटेल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले भारतीय पर्यटकको बढ्दो आगमनले नेपालको पर्यटनमा ठुलो उत्साह जगाइरहेको अवस्थामा केही पर्यटन व्यवसायी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताको व्यवहारले पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको बताए। भारतीय पर्यटकले पोखरालगायतका स्थानका तारे होटेलहरू खचाखच भरिएको नदेख्ने, तर सीमित भारतीय तीर्थयात्रीले बाटोमा खाना पकाएर खाएको र शौच गरेको दृश्य देखाइनुले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक सन्देश दिएको सुवेदीले बताए।
सिद्धार्थनगरका नगरप्रमुख इश्तियाक अहमद खानले भारतीय पर्यटकलाई नेपालमा थप आकर्षित गर्ने खालका प्रवर्द्धनात्मक कार्यक्रम लिएर भारतका विभिन्न सहरमा पुग्न नेपाली पर्यटन व्यवसायीलाई आग्रह गरे। भारतीय पर्यटक नेपाल आउने वातावरण नबिग्रिने गरी सामाजिक सञ्जालको प्रयोग र सरकारी नीति अवलम्बन गर्न आवश्यक रहेको उनको भनाइ छ।
होटेल एसोसियसन नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठले नेपाल भ्रमणमा आउने भारतीय पर्यटकलाई भन्सार नाका र बिचबाटोमा सुरक्षाकर्मीले अपमानजनक रूपले धरपकड गर्नाले पर्यटकीय वातावरण बिग्रिने गरेको बताए। भारतीय पर्यटकले नेपाल आउँदा नगद लिएर आउन पनि विभिन्न झमेला रहेकाले यसतर्फ सरकारले सहजीकरण गर्न आग्रह गरे।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यालय प्रमुख मणिराम लामिछानेले लुम्बिनी, पोखरा र चितवनमा पर्यटन क्षेत्र चलायमान बनाउन त्रिकोणीय पर्यटन प्रवर्द्धनको योजना अघि सारिएको बताए। होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष तथा होटेल व्यवसायी राजेश मल्होत्राले नेपालका सवै पर्यटन व्यवसायी पर्यटन प्रवर्द्धनमा जुट्नुपर्ने बताए। सिद्धार्थ सञ्जालका अध्यक्ष अनिल ज्ञवालीले नेपालको पर्यटन प्रवर्द्धन तथा सुधारका लागि नेपाल घुमेर फर्केका पर्यटकहरूसँग फिडब्याक लिनुपर्ने बताए।