अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बैंक तथा वित्तीय संस्थाहरू नाफामुखी संस्थामात्र नभई नागरिकको हित र आर्थिक समृद्धिका सारथी बन्नुपर्ने बताएका छन् । बैंक स्थापना हुनुको मूल उद्देश्य नै जनताको भलो र आर्थिक विकासमा योगदान पुर्याउनु भएकाले सोही भावनाअनुसार सेवा प्रवाह गर्नुपर्ने उनको भनाइ छ ।
नेपाल बैंक लिमिटेडको बागमती प्रादेशिक कार्यालय तथा सिटी अफिस हेटौँडाको नवनिर्मित भवन उद्घाटन गर्दै मन्त्री वाग्लेले नेपालको पहिलो बैंकका रूपमा नेपाल बैंकले आठ दशकभन्दा लामो समयदेखि मुलुकको आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताए ।
उनले वि.सं. २०२५ सालदेखि नै हेटौँडामा नेपाल बैंकको उपस्थिति रहेको स्मरण गर्दै बैंकले आफ्नो ऐतिहासिक विरासतलाई जोगाउँदै आधुनिक प्रविधिसँगै गुणस्तरीय सेवा विस्तार गर्नुपर्नेमा जोड दिए । ‘वि.सं. १९९४ मा बैंकिङ ऐन जारी हुँदा त्यसको प्रस्तावनामै नेपाली जनताको भलो गर्ने उद्देश्य उल्लेख गरिएको थियो,’ उनले भने, ‘राणाकालीन समयको त्यो उद्देश्यलाई आत्मसात् गर्दै नेपालको पहिलो बैंकले आधुनिक प्रविधि र सेवामार्फत नागरिकको जीवन सहज बनाउनुपर्छ ।’
बागमती प्रदेशको राजधानीका रूपमा हेटौँडाको आर्थिक महत्त्व बढ्दै गएको उल्लेख गर्दै मन्त्री वाग्लेले प्रदेशको आर्थिक गतिविधि विस्तार, लगानी प्रवर्द्धन र वित्तीय पहुँच विस्तारमा नेपाल बैंकको भूमिका अझ प्रभावकारी हुनुपर्ने बताए । उनले बैंकिङ सेवा केवल निक्षेप संकलन र कर्जा प्रवाहमा सीमित नरही स्थानीय अर्थतन्त्र सुदृढीकरण, उद्यमशीलता विकास र उत्पादनमूलक क्षेत्रमा लगानी विस्तारतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे ।
हेटौँडा सडक विस्तारबारे सरकारको चासो
सम्बोधनका क्रममा मन्त्री वाग्लेले हेटौँडाको मुख्य बजार क्षेत्रमा लामो समयदेखि विवादित बनेको सडक विस्तारको विषयमा पनि प्रतिक्रिया दिएका थिए । सडक विस्तारसम्बन्धी विषय अदालतमा विचाराधीन रहेकाले विस्तृत टिप्पणी गर्न नमिल्ने भए पनि समस्या समाधानका लागि सरकार सकारात्मक रहेको उनले बताए । ‘हेटौँडाको विकाससँग जोडिएका पूर्वाधारका विषयमा सरकार गम्भीर छ,’ उनले भने, ‘कानुनी प्रक्रियाको सम्मान गर्दै आवश्यक निकास खोज्न सरकारको तर्फबाट पहल भइरहेको छ।’
कार्यक्रममा अतिथि रहेका हेटौँडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामा र मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमेदसिंह रानाभाटले हेटौँडाको सडक विस्तार प्रक्रिया अलपत्र परेको भन्दै उचित निकासको पहल गरिदिन अर्थमन्त्री वाग्लेसमक्ष आग्रह गरेका थिए ।
कार्यक्रममा नेपाल बैंक लिमिटेडका कार्यकारी निर्देशक तिलकराज पाण्डेले नेपाल बैंक विशुद्ध नेपाली जनताको बैंक भएको बताए । उनका अनुसार हाल बैंक देशका सातै प्रदेश र ७७ वटै जिल्लामा विस्तार भइसकेको छ । बैंकका देशभर २३१ शाखा सञ्चालनमा रहेका छन् भने स्थायी, अस्थायी र करार गरी करिब तीन हजार सात सय कर्मचारी कार्यरत छन् ।
‘हामीसँग हाल करिब चार सय अर्ब रुपैयाँ निक्षेप छ भने २६० अर्ब रुपैयाँ कर्जा लगानी गरेका छौँ,’ उनले भने, ‘नेपाल सरकारका विकास ऋणपत्र र ट्रेजरी बिलहरूमा मात्रै १४० अर्ब रुपैयाँ लगानी गरिएको छ। अहिले २७ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेका छौँ ।’
कार्यकारी निर्देशक पाण्डेका अनुसार पछिल्लो समय ग्राहकहरू डिजिटल बैंकिङ सेवातर्फ तीव्र रूपमा आकर्षित भएका छन् । उनले दुई दशकअघि एउटै शाखामा ४० जनासम्म कर्मचारी आवश्यक पर्ने अवस्था रहेको स्मरण गर्दै अहिले प्रविधिको विकाससँगै कर्मचारी संख्या घटे पनि सेवा प्रवाह प्रभावकारी बनेको बताए । ‘काउन्टरमा आउने सेवाग्राहीको संख्या घट्नु भनेको डिजिटल बैंकिङप्रति ग्राहकको विश्वास बढ्नु हो,’ उनले भने, ‘मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र अन्य डिजिटल सेवाको प्रयोग उल्लेख्य रूपमा बढेको छ ।’
पाण्डेले नेपाल सरकारको सार्वजनिक खरिद प्रक्रिया र कानुनी जटिलताका कारण नयाँ ‘कोर बैंकिङ सिस्टम’ कार्यान्वयनमा केही ढिलाइ भएको जानकारी दिए । हाल पुरानै प्रणालीमा विभिन्न एपिआई जोडेर आधुनिक सेवा उपलब्ध गराइरहेको उल्लेख गर्दै उनले निकट भविष्यमा थप उन्नत प्रविधि भित्र्याउने तयारी भइरहेको बताए । उनका अनुसार नेपाल बैंकमा नेपाल सरकारको ५१ प्रतिशत तथा कर्मचारी सञ्चय कोषको करिब तीन प्रतिशत स्वामित्व रहेको छ । बैंकले नाफाबाट कर भुक्तानी गरेपछि बाँकी नाफाको ५१ प्रतिशत हिस्सा पुनः सरकारकै खातामा जाने व्यवस्था रहेको उनले बताए ।
चार करोड ७२ लाखमा बैंकको भवन निर्माण
नेपाल बैंक लिमिटेड हेटौँडाको नयाँ प्रादेशिक कार्यालय भवन राष्ट्र बैंकको नोट कोषबाट प्राप्त चार करोड ७२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । शाखा प्रबन्धक रेजिना सुवेदीका अनुसार तीनतले भवनमा अन्डरग्राउन्ड पार्किङ, कम्पाउन्ड वाल, गार्डरुम तथा आधुनिक कार्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गरिएको छ ।
नयाँ भवन सञ्चालनमा आएसँगै बागमती प्रदेशका ग्राहकलाई थप व्यवस्थित, सहज र प्रविधिमैत्री बैंकिङ सेवा उपलब्ध हुने विश्वास बैंकले व्यक्त गरेको छ ।