स्थापनापछि पहिलोपटक संगठनात्मक परीक्षामा उत्रिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ऐतिहासिक प्रथम महाधिवेशन आइतबारदेखि चितवनमा सुरु हुँदै छ । चार हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै विधान संशोधन, संगठनात्मक पुनर्संरचना र भावी राजनीतिक कार्यदिशा तय गर्नेछ ।
पार्टीको भावी नेतृत्व, संगठनात्मक संरचना र राजनीतिक दिशाबारे निर्णायक मानिने महाधिवेशनमा हजारौँ प्रतिनिधि र नेताका उपस्थिति हुँदै छन् । महाधिवेशनका लागि सभापति रवि लामिछाने शनिबार नै चितवन पुगिसकेका छन् भने प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह आइतबार दिउँसो साढे १२ बजे भरतपुर आइपुग्ने कार्यतालिका छ । शाह महाधिवेशन अवधिसम्म बस्ने तय भएको छ ।
यसरी हुँदै छ उद्घाटन सत्र
भरतपुरस्थित गेस्टहाउस चौरमा दिउँसो दुई बजे सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन शाहले संयुक्त रूपमा घण्टी बजाएर महाधिवेशनको उद्घाटन गर्नेछन् ।
रास्वपा र सभापति रवि लामिछानेको राजनीतिक ‘उद्गमस्थल’ र राजनीतिक यात्राको महत्वपूर्ण केन्द्रका रूपमा रहेको चितवनमा पहिलो महाधिवेशन आयोजना गरेर रास्वपाले चितवनसँगको साइनो झनै बलियो बनाउँदै छ ।
उद्घाटन समारोहमा संसद्मा प्रतिनिधित्व गर्ने विभिन्न दलका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र जनमत पार्टीका अध्यक्ष सिके राउतलाई शुभकामना मन्तव्यका लागि आमन्त्रण गरिएको छ ।
कांग्रेसबाट पुष्पा भुसाल, एमालेबाट प्रदीप ज्ञवाली, नेकपाबाट वर्षमान पुन र राप्रपाबाट राजेन्द्र लिङ्देनले शुभकामना दिनेछन् । श्रम संस्कृृति र जसपा नेपालबाट अतिथिका रूपमा सहभागी हुने नेताको नाम टुंगिएको छैन ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार महाधिवेशनको दोस्रो दिन बन्दसत्र सञ्चालन हुनेछ । रास्वपाले यसलाई ‘प्रतिवेदन सत्र’का रूपमा परिभाषित गरेको छ, जहाँ विधान संशोधन प्रस्ताव, संगठनात्मक प्रतिवेदन, आर्थिक प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन, नीति–विचार विभागको प्रतिवेदन तथा सभापतिको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिनेछ ।
प्रतिवेदनमाथि छलफल सकिएपछि वर्तमान केन्द्रीय समिति स्वतः विघटन भई निर्वाचन आयोगले नयाँ नेतृत्व चयनका लागि प्रक्रिया सुरु गर्ने महामन्त्री बुर्लाकोटीले बताए ।