नागरिकको जीवनसँग जोडिएको स्वास्थ्य क्षेत्रमा पनि राजनीतिक नेतृत्व र जिम्मेवार निकायले कतिसम्म लापरबाही र सस्तो लोकप्रियता खोज्छन् भन्ने कुरूप उदाहरण बनेको छ– जिल्ला अस्पताल बाजुराको रक्तसञ्चार सेवा (ब्लड बैंक) । स्थापनाको १६ वर्ष बितिसक्दा पनि ब्लड बैंक सञ्चालनमा नआउँदा आकस्मिक उपचार र प्रसूति सेवाका लागि आउने बिरामीले रगत नपाएर अस्पतालको बेडमै मृत्युसँग लड्नुपर्ने नियति अझै बदलिएको छैन । बाजुरामा ब्लड बैंकको इतिहास सेवा दिनेभन्दा पनि मन्त्री र नेताहरूको उद्घाटन गर्ने थलोका रूपमा विकसित भएको छ ।
०६६ मा तत्कालीन साबिक जिल्ला स्वास्थ्य कार्यालयले तामझामका साथ ब्लड बैंक सञ्चालनमा ल्याएको थियो । तर, व्यवस्थापकीय कमजोरीका कारण एक महिनासमेत नचली यो बन्द भयो ।त्यसको डेढ दशकपछि १२ वैशाख ०८२ मा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेखराज खड्काले प्रदेश सरकारबाट आर्थिक सहयोग गर्ने आश्वासन बाँड्दै नेपाल रेडक्रस सोसाइटी र जिल्ला अस्पतालको संयुक्त समन्वयमा पुनः सोही ब्लड बैंकको दोस्रोपटक उद्घाटन गरे । मन्त्रीले रिबन काटेर गएसँगै ब्लड बैंक बन्द छ ।
मेघराज जैसी सभापति, रेडक्रस बाजुरा
हामीसँग छुट्टै भवन नहुँदा जिल्ला डिप फ्रिज अस्पताल बाजुरको कार्यालयमा राखिएको हो । ब्लड बैंक सञ्चालनका लागि स्थानीय, प्रदेश र संघ सरकारसँग पटक–पटक माग गर्दा कसैले वास्ता गरेका छैनन् ।
रेडक्रस बाजुराका सभापति मेखराज जैसी स्थानीय, प्रदेश र संघ सरकार कसैले पनि ब्लड बैंक सञ्चालनमा वास्ता नगरेको आरोप लगाउँछन् । ‘हामीसँग छुट्टै भवन नहुँदा जिल्ला डिप फ्रिज अस्पताल बाजुरको कार्यालयमा राखिएको हो,’ उनले भने, ‘ब्लड बैंक सञ्चालनका लागि स्थानीय, प्रदेश र संघ सरकारसँग पटक–पटक माग गर्दा कसैले वास्ता गरेका छैनन् ।’
राष्ट्रिय जनस्वास्थ्यप्रयोगशालाको रक्तसञ्चार सेवा सञ्चालन मापदण्ड, २०७६ अनुसारब्लड बैंक रेफ्रिजेरेटरसहित रगत प्रशोधनका लागि सेन्ट्रिफ्युज मेसिन, प्लाज्मा एक्स्ट्र्याक्टर र प्लेटलेट इन्क्युबेटर आवश्यक पर्छ । त्यस्तै, संकलन उपकरणमा ब्लड डोनेसन काउच (आरामदायी बेड), ब्लड कलेक्सन मोनिटर र ब्लड ब्याग ट्युब सिलर तथा परीक्षण उपकरण माइक्रोस्कोप, ब्लड बैंक ल्याब वर्कस्टेसन र ल्याब इन्क्युवेटर आवश्यक पर्छ।
जनशक्तिमा मेडिकल डाइरेक्टर वा प्याथोलोजिस्ट, ल्याब टेक्नोलोजिस्ट वा ट्रान्सफ्युजन अफिसर तथा रगत परीक्षणको रिपोर्ट प्रमाणित गर्न ब्याचलर इन मेडिकल ल्याब टेक्नोलोजी उत्तीर्ण प्राविधिक र रगत संकलन र सामान्य ल्याब परीक्षण कार्यमा सहयोग गर्न सर्टिफिकेट इन मेडिकल ल्याब टेक्नोलोजी गरेका कर्मचारीआवश्यक पर्छ । त्यसबाहेक रगत दिने व्यक्ति (रक्तदाता)को स्वास्थ्य जाँच (ब्लड प्रेसर, हेमोग्लोबिन जाँच्ने) गर्न र रगत निकाल्ने कार्यमा खटिने नर्स आवश्यक पर्छ ।
तर, बाजुरा अस्पतालमा डि–फ्रिज मात्र रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर रोकायाले बताए । ‘म आएको एक महिना मात्र भएको छ । उपकरण र जनशक्तिका लागिप्रयास गरिरहेको छु,’ उनले भने ।
१७ लाखका उपकरण थन्किए, बिरामीका आफन्त दाता खोज्दै हिँड्छन्
रगत चिस्यानका लागि राज्य र संस्थाको लाखौँ रकम बालुवामा पानी हालेजस्तै भएको छ । ०७५ मा सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला मन्त्रालयले १२ लाख रुपैयाँमा खरिद गरेको एक थान डि–फ्रिज र नेपाल रेडक्रस सोसाइटी बाजुराले पाँच लाखमा खरिद गरेको अर्को फ्रिज अस्पतालको कुनामा खिया लाग्ने अवस्थामा पुगेका छन् ।
उपकरणमा खिया लाग्दै गर्दा अस्पतालमा जीवनमरणको दोसाँधमा रहेका बिरामीका आफन्त भने सदरमुकाम मार्तडीमा रगतका लागि रुँदै भौँतारिन बाध्य छन् । केही दिनअघि मात्रै त्रिवेणी नगरपालिका–८ की ३५ वर्षीया देउमा थापा उच्च रक्तस्रावका कारण अस्पताल भर्ना भइन् । चिकित्सकले साढे तीन पिन्ट रगत चाहिने भनेपछि उनका श्रीमान् टेकबहादुर थापा मार्तडी बजारभरि रक्तदाता खोज्दै हिँडे । २४ घण्टापछि मात्रै एकजना रक्तदाता भेटिए र देउमाको ज्यान जोगियो। त्यस्तै, अछाम मेल्लेखकी ७० वर्षीया वृद्धा नामसरा बुढा रगत नपाएर दुई दिनसम्म अस्पतालको बेडमै तड्पिनुपर्यो।
अस्पतालमा जटिल प्रसूति सेवा र अप्रेसन सेवा त उपलब्ध छ, तर पहिले रगत दिने मान्छेको सुनिश्चितता गरेर मात्र अप्रेसनको तयारी गरिन्छ । रगत नपाएकै कारण बिरामीलाई महँगो रकम खर्च गरेर धनगढी, नेपालगन्ज वा काठमाडौँ रेफर गर्नुपर्ने बाध्यता छ ।
९० प्रतिशत रगत सेना–प्रहरीकै भरमा, चेतना फैलाउन अस्पताल असफल
अस्पतालका सूचना अधिकारी नृपराज गिरीका अनुसार बाजुरामा हप्तामा १० देखि १५ जनालाई आकस्मिक रगतको आवश्यकता पर्छ ।तर, जिल्लामा ‘रक्तदान गर्नुपर्छ’ भन्ने जनचेतना जगाउन अस्पताल र स्थानीय सरकार असफल छन् ।
गिरीका अनुसार अस्पतालमा रगत आवश्यक पर्ने गर्भवती, सुत्केरी तथा अन्य जटिल बिरामी आएमा सेना, प्रहरी,समाजसेवी र स्वास्थ्यकर्मीसँग सहयोग माग्नुपर्ने अवस्था छ । जिल्लामा रक्तदानसम्बन्धी जनचेतनाको कमी र नियमित रक्तसञ्चार केन्द्र नहुँदा समस्या झन् जटिल बनेको उनले बताए ।
हामीसँग छुट्टै भवन नहुँदा जिल्ला डिप फ्रिज अस्पताल बाजुरको कार्यालयमा राखिएको हो । ब्लड बैंक सञ्चालनका लागि स्थानीय, प्रदेश र संघ सरकारसँग पटक–पटक माग गर्दा कसैले वास्ता गरेका छैनन् ।