पूर्वाधार विकासमन्त्री सुनील लम्सालले ‘ठेकेदारको खुट्टा भाँचिदिनू’ भन्ने आफ्नो विवादित अभिव्यक्तिबारे स्पष्टीकरण दिएका छन्। बिहीबार प्रतिनिधिसभामा मन्त्रालयको बजेटमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री लम्सालले आफ्नो नियत खराब नरहेको बताए।
बैठकमा एमाले सांसद ऐन महरले मन्त्रीको अभिव्यक्तिबारे प्रश्न उठाएका थिए। ‘माननीय मन्त्रीज्यूले ठेकेदारको खुट्टा भाँच्नू भन्ने आदेश दिनुभएको थियो। त्यो कानुनबमोजिम थियो कि थिएन ? दाहिने खुट्टा भाँच्नुपर्ने हो कि देब्रे खुट्टा भाँच्नुपर्ने हो ?’ उनले प्रश्न गरे।
जवाफमा मन्त्री लम्सालले भने, ‘इन्टेन्सन त्यो होइन, नितान्त काम गरून् भन्ने हो।’ ठेक्का रद्द भए सरकारले जसरी पनि असुल गर्ने उल्लेख गर्दै उनले थपे, ‘उहाँहरूले काम गर्नुभएन भने हामीले रद्द गर्नुपर्याे नि टेन्डर। रद्द भयो भने उहाँहरूको सातपुस्ते सकिन्छ । ...हाम्रो लागि काम गर्ने एउटा कम्पनी कम भयो नि त।’
मन्त्री लम्सालले अगाडि भने, ‘कसैलाई गाली गर्न मनै छैन नि। खुरुखुरु काम गरिदिनुभयो भने त हामी चुपचाप लागेर बस्छौँ, खुसी हुन्छौँ।’