पाटन–पञ्चेश्वर सडकमा निर्माण सामग्री अभाव, ९५ प्रतिशत काम सकिएर अलपत्र

बिहिबार, ४ असार, २०८३
डिजिटल संस्करण

बैतडीको पाटन–पञ्चेश्वर सडकको मेलौली–पञ्चेश्वरखण्डको म्याद तीनपटक थप गरिसक्दासमेत काम पूरा हुन सकेको छैन। ५९ किलाेमिटर लामो सडक निर्माण सामग्री अभाव हुँदा अन्तिम पाँच किलोमिटर खण्डको काम अलपत्र परेको हो।

जिल्लाको दक्षिणी क्षेत्र तल्लोस्वराडका मेलौली, शिवनाथ र पञ्चेश्वर गाउँपालिकाको ५६ हजार जनसंख्यालाई लाभ पुग्ने यो सडकमा ९५ प्रतिशत काम सम्पन्न भएको छ। पाँच किलोमिटरमा मसिनो गिट्टीसहित अलकत्रा राख्न बाँकी छ।

विनायक क्षेत्रमा जम्मा गरिएको निर्माण सामग्री (नेचुरल गिट्टी) ढुवानीमा प्रशासनले रोक लगाएपछि एक महिनायता निर्माण कार्य ठप्प भएको हो। निर्माणस्थलबाट १५ किलोमिटर टाढा विनायकघाटमा तयारी अवस्थामा रहेको सामग्री ल्याउन नसक्दा काम अलपत्र परेको निर्माण कम्पनीले जनाएको छ। केही समयअघि स्थानीय प्रशासनले विनायकघाटबाट क्रसर हटाउने निर्णय गरेको थियो। त्यसपछि यहाँ नेचुरल गिट्टी बनाउने काम बन्द भएको छ।

क्रसर बन्द गरेपछि त्यहाँ तयारी अवस्थामा रहेको २५ टिपर गिट्टी ल्याउन नपाउँदा एक महिनादेखि काम अघि बढ्न नसकेको निर्माण कम्पनी केएस कन्स्ट्रक्सनका इन्जिनियर वसन्त पालले बताए। उनले भने, ‘हामीले निर्माण गरिरहेको २५ किलोमिटर खण्डमध्ये २० किलोमिटर सम्पन्न भइसकेको छ। एक महिनायता नेचुरल गिट्टी ल्याउन नसक्दा पाँच प्रतिशत मात्र काम बाँकी छ।’

मध्यपहाडी लोकमार्गको नयाँ सहर पाटनबाट मेलौलीसम्म ३४ किलाेमिटर सडक यसअघि नै कालोपत्रे भइसकेको छ। मेलौलीबाट थप ११ किलोमिटर गत वर्ष नै केएस कन्स्ट्रक्सनले कालोपत्रे गरिसकेको छ। शिवनाथ गाउँपालिकाको सुल्लेखानदेखि पञ्चेश्वरको सिउनानी खोलासम्मको पाँच किलोमिटर सडकखण्डमा अलकत्रासहितको मसिनो गिट्टी बिछ्याउन मात्र बाँकी छ भने सिउनानी खोलादेखि पञ्चेश्वर– १ को डुङ्ग्रीखानसम्म नाै किलोमिटर खण्डमा गत वैशाखमा कालोपत्रे गरिएको थियो।

सडक कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेर अवरोध भएपछि स्थानीय बासिन्दा आक्रोशित भएका छन्। ४६ करोडमा कालोपत्रे भइरहेको २५ किलोमिटर सडकमा चार वर्षयता निरन्तर काम भइरहेको थियो। अन्तिम खण्डमा थोरै काम मात्र बाँकी छोडेर ठेकेदार बाहिरिने तयारी गरेको भन्दै पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले चिन्ता व्यक्त गरे।

‘यो हामीले धेरै संघर्ष गरेर ल्याएको सडक हो, ६० किलोमिटरमध्ये पाँच किलोमिटर कालोपत्रे गर्ने काममा अवरोध भएको छ,’ चन्द भन्छन्, ‘नदीमा क्रसर बन्द गर्नु ठिकै हो। तर, तयारी अवस्थामा रहेको सामग्री ल्याउन दिएर काम सम्पन्न हुनुपर्छ।’ अहिले ठेकेदारका सबै उपकरण र कामदार निर्माणस्थलबाट हटाउन थालेकाले यथाशीघ्र काम गर्ने वातावरण मिलाउनुपर्नेमा उनले जोड दिए।

पूर्वाधार विकास कार्यालय प्रमुख धीरेन्द्र भट्टले सकभर असारभित्रै काम सम्पन्न गर्ने हिसाबले समन्वय गरिरहेको बताए। उनले भने, ‘काम अन्तिम चरणमा छ, असारसम्म ठेकेदारको म्याद छ। समयभित्रै निर्माण हुन नसके फेरि म्याद थप गर्नुपर्ला।’

निर्माण सामग्री ढुवानी गर्न सके तीन हप्तादेखि एक महिनाजतिमा पाँच किलोमिटर कालोपत्रे गरेर काम सम्पन्न हुने निर्माण कम्पनीले जनाएको छ। तर, तत्काल काम अघि बढाउन नसके निर्माण कार्यमा प्रयोग हुने उपकरणहरू र कामदारसहित अर्को ठाउँमा जानुपर्ने कम्पनीका इन्जिनियर पालले बताए। उनका अनुसार अहिले अढाई सय किलोमिटर टाढा कञ्चनपुरबाट नेचुरल गिट्टी ल्याउन खोज्दा त्यहाँ पनि अभाव भएका कारण निर्माण कार्य ठप्प भएको छ। 

‘महँगीका कारण निर्माण व्यवसायीहरु मारमा छन्, १५ किलोमिटरनजिकको निर्माण सामग्री ल्याउन बन्देज लगाएर, अढाई सय किलोमिटर टाढाबाट ढुवानी गर्न सम्भव छैन,’ उनले भने।

बर्खाअघि कालोपत्रे गर्न नसके पिच सडक पनि खाल्टाखुल्टी भएर कच्ची सडकमा परिणत हुने अवस्था सिर्जना भएको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष विना भट्टले बताइन्। काम अघि बढाउन स्थानीय प्रशासन र राजनीतिक नेतृत्वसँग समन्वय गर्दा पनि समस्या उस्तै रहेको उनको भनाइ छ। 

गत वैशाखमा स्थानीय केही युवाहरूले अवैध क्रसर बन्द गराउन माग गरेका थिए। त्यसपछि विनायकमा रहेको क्रसर प्रशासनले बन्द गरेको थियो। स्थानीयहरूले पछि ठेकेदारलाईसमेत काम गर्न अवरोध गरेर निर्माण कार्य अलपत्र पारेको पञ्चेश्वर– ३ का अध्यक्ष मीनबहादुर चन्द बताउँछन्।

‘विकृति र खराब कामको विरोध गर्ने हो, तर गाउँठाउँको विकासका लागि सबै एकजुट हुनुपर्छ,’ उनी भन्छन्, ‘सडक कालोपत्रे गर्ने काम अहिले नभए वर्षौँ लम्बिएर जनताले नै दुःख पाउँछन्।’ समस्या सामाधानका लागि सबै पक्ष एक भएर तल्लोस्वराडको मेरुदण्डको रूपमा रहेको पाटन–पञ्चेश्वर सडकको काम सम्पन्न गराउनुपर्ने उनले बताए।

सुझावित समाचार