उद्धार कार्यबाहेक हेलिकाेप्टर प्रयोग नगर्न गृहमन्त्रीको निर्देशन

बिहिबार, ४ असार, २०८३
डिजिटल संस्करण

गृहमन्त्री सुधन गुरुङले विपत् व्यवस्थापन र पूर्वतयारीका सम्बन्धमा परम्परागत कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सुरक्षा निकायका प्रमुखहरूसँगको विशेष बैठकमा गृहमन्त्रीले गुरुङले विपत् आइसकेपछि मात्र उद्धार र राहतमा खटिने प्रवृत्तिमा सुधार गर्न सचेत गराए।

‘हामी सधैँ विपत् आइसकेपछि मात्र उद्धार र राहतमा खटिने गर्छौँ, जसका कारण अपेक्षाकृत नतिजा आउन सकेको छैन। अब यो प्रवृत्ति सुधार्दै विपत् आउनुपूर्व नै सजग र पूर्वतयारीमा रहनु आवश्यक छ,’ उनले भने।

अघिल्ला सरकारहरूका पालामा बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका नाममा हेलिकाेप्टरको चरम दुरुपयोग भएको टिप्पणी गर्दै गृहमन्त्री गुरुङले वर्तमान सरकारका कुनै पनि मन्त्रीले अनावश्यक भ्रमण गरेर राज्यको सम्पत्ति नसक्न निर्देशन दिए। ‘म आफैँ पनि हेलिकाेप्टर चढेर राज्यको सम्पत्ति दुरुपयोग गर्नेछैन,’ उनले भने।

उद्धार कार्य र सुरक्षा निकायका कर्मचारीबाहेक अन्य कसैले पनि विपतकाे बहानामा हेलिकाेप्टर चढ्न नपाउने व्यवस्था कडाइका साथ लागू गरिने उनले स्पष्ट पारे।

देशका उच्च बाढीपहिरो जोखिमयुक्त क्षेत्रहरूमा पहिल्यैदेखि तयारी अवस्थामा रहन निर्देशन दिँदै उनले थप भने, ‘सबै निकाय एकीकृत टोली बनेर काम गर्ने हो भने विपतमा कसैले पनि ज्यान गुमाउनुपर्दैन। विपतकै कारण कसैको पनि ज्यान गएको खबर मलाई सुन्नु नपरोस्।’

सो बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुखहरूका साथै विपत् जोखिम न्यूनीकरण क्षेत्रमा कार्यरत वरिष्ठ अधिकारी एवं कर्मचारीहरूको सहभागिता थियो।

सुझावित समाचार