भारतीय नम्बर प्लेटको गाडीमा अवैध रूपमा नेपाली नम्बर प्लेट राखेर कुदाउने एक भारतीय युवक धनकुटाबाट पक्राउ परेका छन्। भारतको बिहार राज्य जोगवनी थाना अमोना पञ्चायत २१ मिरगन्ज बस्ने २२ वर्षीय नन्दुकुमार चौधरी धनकुटाको साँगुरीगढी गाउँपालिका– ६, भेडेटारस्थित कोशी लोकमार्गबाट गाडीसहित पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धरानतर्फ जाँदै गरेका सवारीसाधनहरू चेकजाँच गर्ने क्रममा गाडीसहित चौधरीलाई नियन्त्रणामा लिएको हो। चौधरीले चलाएको सेतो रङको कारलाई रोकेर चेकजाँच गर्दा सो गाडीको वास्तविक नम्बर प्लेट बिआरएजी ६७०२ रहेको पाइएको छ। तर, चौधरीले उक्त प्लेटको माथिबाट प्रदेश १–०१–००१ च ९२९४ नम्बरको नेपाली प्लेट राखी कार चलाएका थिए।
गाडी र चालकलाई थप कानुनी कारबाहीका लागि यातायात व्यवस्था ऐन, २०४९ को दफा १६० बमोजिम यातायात व्यवस्था सेवा कार्यालय धनकुटामा पठाइएको प्रहरीले जनाएको छ।