भारतीय एजेन्टले खोलेका छन् नेपालमा कार्यालय

बिहिबार, ४ असार, २०८३
डिजिटल संस्करण

‘सिप प्रमाणीकरण कार्यक्रम (एसभिपी)’ सञ्चालन गरी रोजगारीका लागि साउदी अरेबिया जाने प्रत्येक नेपाली श्रमिकबाट १०० डलर (कम्तीमा १५ हजार रुपैयाँ)का दरले असुल्न लागिएको छ । काठमाडौंस्थित साउदी दूतावाससँग समन्वय गरेर धापासीमा ‘इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युड नेपाल प्रालि’ नामको परीक्षा केन्द्र खोलिसकेको भारतीय एजेन्टले बुधबारबाटै एसभिपी सुरु गर्न लागेको थियो । तर, श्रमिकलाई अतिरिक्त भार थोपर्न लागेको विरोधमा म्यानपावर व्यवसायी उत्रिएपछि तत्कालका लागि स्थगन भएको छ ।

काठमाडौंस्थित साउदी दूतावासले सूचना नै जारी गरी बुधबारबाट परीक्षा लिने जानकारी गराउँदै उत्तीर्ण नहुनेको भिसा प्रमाणीकरण नगर्ने चेतावनी दिएको थियो । सरकार र म्यानपावर व्यवसायीसँगको समन्वयविनै एसभिपी लागू गरेर श्रमिकबाट कम्तीमा १५ हजारका दरले रकम असुल्न खोजेपछि वैदेशिक रोजगार व्यवसायी संघले संस्थागत रूपमा विरोध जनाएको छ । संघको अगुवाइमा करिब दुई सय व्यवसायीले बुधबार दिउँसो परीक्षा सञ्चालन गर्ने भनिएको कार्यालयमै गएर विरोध जनाएका थिए । त्यसपछि कार्यालयले अर्को सूचना जारी गरेर सिप प्रमाणीकरण कार्यक्रम स्थगन भएको जनाएको छ । कार्यालय उद्घाटन गर्न साउदी दूतावासका कर्मचारीसमेत जाने भने पनि व्यवसायीको विरोधपछि उनीहरू पछि हटेका थिए ।

भारतीय एजेन्टले टोखा नगरपालिका– १०, धापासीमा ‘इन्डस्ट्रियल ट्रेनिङ इन्स्टिच्युड नेपाल प्रालि’ कार्यालय स्थापना गरेका छन् । उक्त कम्पनीले भारतमा समेत साउदी जाने भारतीय श्रमिकलाई सिप परीक्षण कार्यक्रम गर्दै आएको स्रोतको भनाइ छ । तर, सो कम्पनीले सोझै सिप परीक्षण नगरी आफूमातहत केही परीक्षा केन्द्र राखेर भारतीय श्रमिकबाट शुल्क असुलिरहेको स्रोतले जानकारी दियो ।

भारतमा गरिरहेको व्यावसायिक मोडल कम्पनीले नेपालमा पनि लागू गर्न खोजेको एक म्यानपावर व्यवसायीले बताउँछन् । ‘धापासीमा रहेको कम्पनी भारतीय नागरिकको स्वामित्वमा रहेको पुष्टि भएको छ,’ ती व्यवसायीले भने, ‘सो कम्पनीमातहत परीक्षा केन्द्र रहने गरी ६ संस्थाले दूतावासबाट स्वीकृति लिइसकेको जानकारी प्राप्त भएको छ ।’ बिहीबार ११ बजे काठमाडौंस्थित साउदी दूतावासमा म्यानपावर व्यवसायीको छलफल राखिएको छ ।

सुझावित समाचार