वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने सातजना पक्राउ

बिहिबार, ४ असार, २०८३
डिजिटल संस्करण

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा टोखा नगरपालिका– २ बस्ने नुवाकोटकी ४६ वर्षीया शारदाकुमारी अधिकारी, पोखरा महानगरपालिका– ३२ की २९ वर्षीया सुनिता सुवेदी तिवारी, सूर्यविनायक नगरपालिका– २ बस्ने इलामकी ३५ वर्षीया सावित्रादेवी अर्याल, सिद्धार्थनगर नगरपालिका– १ का ४३ वर्षीय ऋषिराम पाण्डे, ३६ वर्षीया अनिता पाण्डे, पाल्पाकी ३५ वर्षीया अम्बिका घिमिरे तथा महालक्ष्मी नगरपालिका– १० बस्ने महोत्तरीका २२ वर्षीय योगेशकुमार यादव रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले आकर्षक रोजगारीको प्रलोभन देखाउँदै विभिन्न व्यक्तिबाट रकम असुलेका थिए। शारदाले अस्ट्रेलिया पठाइदिने भन्दै ६ लाख रुपैयाँ, सुनिताले जापान पठाइदिने भन्दै चार लाख रुपैयाँ, सावित्राले रोमानिया पठाइदिने भन्दै १३ लाख रुपैयाँ ठगी गरेको आरोप छ।

यस्तै, ऋषिरामले क्यानडा पठाइदिने भन्दै एक लाख रुपैयाँ, अनिताले दुई लाख रुपैयाँ र अम्बिकाले दुई लाख ८० हजार रुपैयाँ लिएको प्रहरीले जनाएको छ। योगेशकुमार यादवले भने ग्रिस पठाइदिने आश्वासन दिएर पाँचजना पीडितबाट कुल ३४ लाख ५० हजार रुपैयाँ असुलेपछि सम्पर्कविहीन भएको आरोप छ।

पीडितहरूको उजुरीपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

सुझावित समाचार