बर्दियामा वन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्दै आएका साझेदार संघसंस्थालाई प्रभावित पार्न खोजिएको भन्दै तीनवटा सामुदायिक वन समन्वय समितिले प्रेस विज्ञप्ति जारी गरेका छन् ।
वन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्दै आएका साझेदार संघसंस्थालाई प्रभावित पार्न खोजिएको भन्दै खाता सामुदायिक वन समन्वय समिति, वसन्ता सामुदायिक वन समन्वय समिति र खैरी सामुदायिक वन समन्वय समितिले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गरेका हुन् ।
खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङ, वसन्ता सामुदायिक वन समन्वय समितिका अध्यक्ष मास्टर थारू र खैरी सामुदायिक वन समन्वय समितिका अध्यक्ष खुसीराम थारूले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बर्दियामा संरक्षणपीडित नागरिक समाज भन्ने समूहले संरक्षण साझेदार संस्था तथा अन्य संघसंस्थाहरूलाई खुला पत्र लेखी संरक्षणविरोधीजस्ता शब्द राखी संरक्षण क्षेत्रमा कार्य गर्दै आएका संघसंस्थालाई प्रभावित पार्न खोजिएको छ । तीनवटा वन समन्वय समितिले संयुक्त रूपमा स्थानीय सरोकारवालासँग छलफल गर्दा विगत तीन दशकदेखि संरक्षण क्षेत्रको आयआर्जनमूलक, सिपमूलक, वन व्यवस्थापन, जैविक विविधता संरक्षण, वन्यजन्तु छेकवार सोलार फेन्सिङसहितको मेस वायर तारजाली र पीडित परिवारलाई आयआर्जन सहयोग गर्दै आइरहेको कामलाई निरन्तरता दिनुपर्ने माग सबैको रहेको छ ।’
