बर्दियामा मानव–वन्यजन्तु द्वन्द्व सामुदायिक वन क्षेत्रमा बढ्दो

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्रमा भन्दा बढी मानव वन्यजन्तु द्वन्द्व सामुदायिक वन क्षेत्रमा हुने गरेको पाइएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र डिभिजन वन कार्यालय बर्दियाको तथ्यांक हेर्दा निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्रमा भन्दा  बढी मानव–वन्यजन्तु द्वन्द्व सामुदायिक वन क्षेत्रमा हुने गरेको पाइएको हो । 

मानव वन्यजन्तु द्वन्द्वको कारण आर्थिक वर्ष ०७७/७८ देखि चालू आर्थिक वर्ष ०८२/८३ को जेठसम्म निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट १५ जनाको मृत्यु र ४३ जना घाइते भएका छन् भने सामुदायिक वन क्षेत्रमा २९ जनाको मृत्यु र ५२ जना घाइते भएको तथ्यांक रहेको छ । 

मानव–वन्यजन्तु द्वन्द्वको कारण आर्थिक वर्ष ०७७/७८ देखि चालू आर्थिक वर्ष ०८२/८३ को जेठसम्म निकुञ्जसँग जोडिएको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट नाैजना, हात्तीको आक्रमणबाट पाँचजना र गोहीको  आक्रमणबाट दुईजनाको मृत्यु भएको छ भने हात्तीको आक्रमणबाट १५ जना, चितुवाको आक्रमणबाट नाैजना गैँडाको आक्रमणबाट सातजना, बँदेलको आक्रमणबाट पाँचजना र गोहीको  आक्रमणबाट दुईजना गरी ४३ जना घाइते भएको निकुञ्जका संरक्षण अधिकृत सरोजमणि पौडेलले बताए । 

त्यसैगरी, मानव–वन्यजन्तु द्वन्द्वको कारण आर्थिक वर्ष ०७७/७८ देखि चालू आर्थिक वर्ष ०८२/८३ को जेठसम्म सामुदायिक वन क्षेत्रआसपासको क्षेत्रमा चितुवाको आक्रमणबाट १४ जना, बाघको आक्रमणबाट ११ जना, हात्तीको आक्रमणबाट ३ जना र गैँडाको आक्रमणबाट एकजना गरी २९ जनाको मृत्युको भएको छ । चितुवाको आक्रमणबाट ४३ जना, बाघको आक्रमणबाट चारजना गैँडाको आक्रमणबाट तीनजनाको र हात्तीको आक्रमणबाट २ जनाको घाइते भएको डिभिजन वन कार्यालयले जनाएको छ । 

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि समुदायस्तरमा सचेततामूलक कार्यक्रम, आयआर्जनका लागि गोठ सुधार, विभिन्न सिपमूलक तालिम, मेषजालीसहितको तारबार, सोलार फेन्स, विद्युतीय फेन्स, वन्यजन्तु आएपछि  समुदायलाई सूचना दिन विभिन्न स्थानमा साइरन जडान गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डाक्टर अशोक रामले बताए । उनले भने, ‘निकुञ्जका  वन्यजन्तुको वासस्थान व्यवस्थापन,  समस्याग्रस्त वन्यजन्तुको व्यवस्थापन र मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्नका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष, तराई भूपरिधि कार्यक्रम, जेड एस एललगायत संघ/संस्थाको भूमिका पनि महत्त्वपूर्ण रहेको छ ।’

वन्यजन्तुको संरक्षण गरी मानव वन्यजन्तु द्वन्द्व  न्यूनीकरण  गर्नका लागि निकुञ्ज र डिभिजन वन कार्यालय बाहेक अन्य साझेदार संघ/संस्थाले पनि समुदाय स्तरमा काम गर्दै आएको छन् ।
 

सुझावित समाचार