हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा सडक कालोपत्रे सुरु

बुधबार, ३ असार, २०८३
डिजिटल संस्करण

२६ वर्षअघि जनश्रमदानबाट खोलिएको हिले–चोक्रोक–भिरगाउँ–मधुगंगा सडक कालोपत्रे हुन थालेपछि किसान र स्थानीय व्यवसायी उत्साहित बनेका छन्। उक्त सडक कालोपत्रे भएपछि धनकुटा नगरपालिकाको ग्रामीण क्षेत्रमा उत्पादन हुने तरकारी, दूध तथा कृषिजन्य उपज सहज रूपमा बजार पुग्ने अपेक्षा गरिएको छ।

विश्व बैंकको ३६ करोड रुपैयाँ अनुदान सहयोगमा निर्माण भइरहेको ७३ किलोमिटर सडकको अधिकांश भागमा कालोपत्रेको काम तीव्र गतिमा अघि बढिरहेको छ। सडक सञ्चालनमा आएपछि उत्पादन ढुवानीमा लाग्ने समय र लागत दुवै घट्ने स्थानीय कृषकहरूको विश्वास छ।

भिरगाउँ क्षेत्र गाँजर उत्पादनका लागि परिचित छ। धनकुटा नगरपालिकाले यस क्षेत्रलाई गाँजर उत्पादन पकेट क्षेत्र घोषणा गरेको छ। यसका साथै आलु, मुला, हरियो तरकारी तथा दुग्ध उत्पादन पनि उल्लेख्य मात्रामा हुने गरेको छ। तर, वर्षा याममा कच्ची सडकका कारण कृषकका उत्पादन बजारसम्म पुर्याउन कठिनाइ हुँदै आएको थियो।

स्थानीय कृषक फुर्वा तामाङका अनुसार सडक कालोपत्रे भएपछि उत्पादित वस्तुहरू बिक्री वितरणमा ठुलो सहजता हुनेछ। ‘पहिले हिलो र धुलोका कारण बजारसम्म पुग्नै समस्या हुन्थ्यो। सडक कालोपत्रे भएसँगै कृषकले उत्पादन गरेका कृषिजन्य वस्तु समयमै बजार पुर्याउन सकिने छ,’ उनले भने। सडक सुधार भएसँगै किसानले उत्पादन गरेको कृषिजन्य वस्तुले उचित मूल्य पाउने धनकुटा नगरपालिका–२ का वडाध्यक्ष चन्द्रलाल तामाङले बताए। अहिले धनकुटा नगरपालिकाले बिउ, प्राविधिक परामर्श र कृषि सामग्री उपलब्ध गराउँदै आएको छ।

धनकुटा नगरपालिका २ नम्बर वडा धार्मिक हिसाबले पनि चर्चित छ। त्यसैले गर्दा सडकले कृषि क्षेत्रलाई मात्र होइन, धार्मिक पर्यटनलाई समेत टेवा पुर्याउनेछ। धार्मिक तथा पर्यटकीय महत्व बोकेको मधुगंगा धामसम्म पुग्न सहज हुने भएपछि आन्तरिक पर्यटकको संख्या बढ्ने अपेक्षा गरिएको छ। यसबाट स्थानीय होटेल, पसल तथा अन्य साना व्यवसायलाई समेत फाइदा पुग्नेछ।

२०५७ सालमा स्थानीयवासीले ९६ दिनसम्म जनश्रमदान गरेर ट्याक खोलेको यो सडक कालोपत्र हुँदै गएपछि स्थानीयहरुको दशकौँदेखिको सपना पूरा भएको छ।

सुझावित समाचार