पाठ्यक्रमअनुसार मात्रै आवासीय चिकित्सकलाई सेवामा खटाउन आयोगको निर्देशन

मंगलबार, २ असार, २०८३
डिजिटल संस्करण

चिकित्सा शिक्षा आयोगले आवासीय चिकित्सकहरूलाई पाठ्यक्रमले तोकेको दायराभित्र रहेर मात्रै सेवामा खटाउन विश्वविद्यालय तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ।

आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले सोमबार पत्राचार गर्दै आवासीय चिकित्सकलाई अत्यधिक समयसम्म काममा लगाइँदा शारीरिक तथा मानसिक असर परेको गुनासो आयोगमा प्राप्त भएको बताएका छन्।

पत्रमा सम्बन्धित विषयको पाठ्यक्रमअनुसार मात्रै कार्य जिम्मेवारी तोक्न र त्यससम्बन्धी विवरण यथाशीघ्र आयोगलाई उपलब्ध गराउन आग्रह गरिएको छ।

त्यसैगरी, मेडिकल तथा डेन्टल विषयका स्नातक तहका विद्यार्थीहरूको इन्टर्नसिप भत्ता विभिन्न शिक्षण संस्थामा असमान रहेको र कतिपय मेडिकल कलेजहरूले अत्यन्त न्यून भत्ता दिएको गुनासो पनि आयोगमा पुगेको जनाएको छ।

आयोगले मेडिकल कलेजहरूलाई आफ्नै आंगिक अस्पतालमा सेवा गरेबापत उपलब्ध गराइने भत्तासरह इन्टर्नसिप चिकित्सकलाई पनि सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ। साथै, इन्टर्नसिपमा खटिने चिकित्सकलाई प्रदान गरिएको भत्तासम्बन्धी जानकारी आयोगमा पठाउन पनि आग्रह गरिएको छ।

सुझावित समाचार