पर्साको छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोजकुमार गुप्तासहित पाँचजनाले विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन्। विशेष अदालतले मंगलबार फैसला सुनाउँदै गाउँपालिका अध्यक्ष गुप्ता, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्रप्रसाद साह, तत्कालीन लेखापाल संजय पटेल तथा विज्ञापन एजेन्सी केएस मल्टिपर्पोज प्रालि वीरगन्जका सञ्चालक कमलकुमार उपाध्यायलाई सफाइ दिएको विशेष अदालतका प्रवक्ता कृष्णशरण छामिछानेले जानकारी दिए।
न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले उक्त फैसला गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस २३ गते छिपहरमाई गाउँपालिकामा बोलपत्र आह्वानसम्बन्धी झुट्टा सूचना प्रकाशित गरी सरकारी रकम दुरुपयोग गरिएको आरोप लगाउँदै मुद्दा दायर गरेको थियो। त्यसको पाँच महिनापछि सबैले सफाइ पाएका हुन्।
आर्थिक वर्ष ०७९–८० मा गाउँपालिकाले विभिन्न निर्माण कार्यका लागि ठेक्का आह्वान गर्दा राष्ट्रियस्तरको सौर्य दैनिक पत्रिकामा सूचना प्रकाशित गरिएको देखाई भुक्तानी गरेको थियो। तर, अनुसन्धानका क्रममा उल्लेखित मितिमा उक्त पत्रिकामा कुनै सूचना प्रकाशित नभएको अख्तियारको दाबी थियो।
यद्यपि, विशेष अदालतले प्रमाण तथा तथ्यहरूको मूल्यांकनपछि आरोपितहरूविरुद्ध लगाइएको भ्रष्टाचारको अभियोग पुष्टि हुन नसकेको ठहर गर्दै सबै प्रतिवादीलाई सफाइ दिएको हो।