कपिलवस्तुको बहादुरगन्जस्थित शिवराज अस्पतालमा सञ्चालन गरिएको दुईदिने निःशुल्क मुटु, मिर्गौला तथा विशेषज्ञ स्वास्थ्य शिविरबाट तीन हजार ७८५ जना बिरामी प्रत्यक्ष लाभान्वित भएका छन्। विशेषज्ञ चिकित्सकको टोलीबाट स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध भएपछि नागरिकमा उत्साह देखिएको छ भने टाढाटाढाबाट समेत सेवाग्राहीहरू उपचार तथा स्वास्थ्य परीक्षणका लागि पुगेको बताएको छ ।
कृष्णनगर नगरपालिकाको समन्वयमा सेभ द हार्ट, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल टिचिङ अस्पताल महाराजगन्जस्थित मिर्गौला रोग विभाग, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा प्रत्यारोपण केन्द्र तथा देवदह मेडिकल कलेज एन्ड रिसर्च इन्स्टिच्युटको सहकार्यमा शिविर सञ्चालन गरिएको बताएको छ । शिविरबाट कृष्णनगर नगरपालिकासहित विजयनगर गाउँपालिका, शिवराज नगरपालिका तथा महाराजगन्ज नगरपालिकाका नागरिकले समेत सेवा लिएको बताएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै आर्थिक अवस्था कमजोर भएका र विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताएका छन् ।
‘विशेषज्ञ चिकित्सकको सेवा लिनका लागि नागरिकहरूलाई काठमाडौं वा ठुला सहरसम्म पुग्नुपर्ने बाध्यता कम गर्न यस्ता कार्यक्रम सञ्चालन गरेका हौँ,’ नगर प्रमुख शाहले भने, ‘स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदा नागरिकको समय र खर्च दुवै बचत भएको छ । जनस्वास्थ्यलाई प्राथमिकतामा राखेर आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिनेछौँ,’ शाहले भने ।
शिविरमा मुटुरोगसम्बन्धी एक हजार ६०५ जना, मिर्गौला रोगसम्बन्धी ४०८ जना, स्त्री तथा प्रसूति रोगसम्बन्धी ४०६ जना, मानसिक स्वास्थ्यसम्बन्धी २१६ जना, हाडजोर्नी तथा नसा रोगसम्बन्धी ८३० जना तथा नाक, कान र घाँटी इएनटीसम्बन्धी ३२० जनाले सेवा प्राप्त गरेको डा. दिव्यासिंह शाहले जानकारी दिइन्।
त्यसैगरी, शिविर अवधिमा ५९१ जनाको इसिजी, ३८१ जनाको इको, ३६६ जनाको एक्सरे, ७६३ जनाको प्रयोगशाला ल्याब परीक्षण तथा ४२३ जनाको अल्ट्रासाउन्ड युएसजी सेवा प्रदान गरिएको जनाइएको छ ।
कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटाले शिविरबाट हजारौँ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएको उल्लेख गर्दै स्थानीय सरकार, स्वास्थ्य संस्था र नागरिकको सक्रिय सहभागिताका कारण कार्यक्रम सफल भएको बताए। उनले आगामी दिनमा पनि जनहितमुखी स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने बताएका छन् ।
युवानेता निर्भय सिंहले नगरपालिकाद्वारा सञ्चालन गरिएको शिविरले नागरिकमा शिवराज अस्पताल तथा स्वास्थ्य सेवाप्रति विश्वास बढाएको बताउँदै युवाहरू स्वयंसेवकका रूपमा सहभागी हुन पाउँदा गौरवान्वित भएको बताएका छन् ।
आयोजकका अनुसार आर्थिक अभाव तथा विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी सञ्चालन गरिएको शिविरले हजारौँ नागरिकलाई प्रत्यक्ष राहत पुर्याएको छ। विशेषज्ञ चिकित्सकहरूको सहभागिताले स्थानीय स्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन महत्त्वपूर्ण योगदान पुगेको विश्वास गरिएको छ।