गोरखा जिल्लाको गोरखा नगरपालिका– ७, छिपिनीटोलस्थित गोरखा घर (दोहोरी साँझ)नजिक सडकमा एक युवकलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार जेठ २७ गते राति करिब १२:३७ बजे वारपाक सुलिकोट गाउँपालिका– ३ निवासी ३२ वर्षीय सन्तबहादुर गुरुङमाथि अज्ञात व्यक्तिहरूले लात, मुक्का तथा ढुंगाले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए। घटनापछि घाइते गुरुङलाई उपचारका लागि प्रदेश अस्पताल गोरखा लगिएको थियो।
उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका गुरुङ जेठ २९ गते दिउँसो अचानक अचेत भएर ढलेका थिए। उनलाई पुनः उपचारका लागि प्रदेश अस्पताल गोरखा ल्याइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको अनुसन्धानका क्रममा कुटपिट तथा हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा गोरखा नगरपालिका– ७, रोटेपानीका २४ वर्षीय बाेनस शाक्य, धार्चे गाउँपालिका– २ केरौजा घर भई हाल गोरखा नगरपालिका– ८, बगैँचामा बस्ने २३ वर्षीय मिङमर गुरुङ, सिरानचोक गाउँपालिका– २, थालाजुङका २९ वर्षीय होमराज गुरुङ र धार्चे गाउँपालिका– १, हुलचुकका २४ वर्षीय सन्तोष गुरुङ रहेका छन्।
प्रहरीले पक्राउ परेकामाथि गोरखा जिल्ला अदालतबाट म्याद थप अनुमति लिई अनुसन्धान जारी राखेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन्।