यस वर्ष असार लागिसक्दा पनि मनसुनी वायु नभित्रिँदा किसान चिन्तित बनेका छन् । असारसँगै धान रोपाइँ सुरु हुने भए पनि यसपटक ढिलो गरी मात्र मनसुन भित्रिने र कमजोर प्रणाली रहेकाले पानी कम पर्ने आकलन छ ।
नेपालमा सामान्यतया १३ जुनमा मनसुन प्रवेश गर्ने सरदर अनुमान हो । गत वर्ष दुई साताअघि (मध्य जेठमै) मनसुन भित्रिएको थियो । तर, प्रशान्त महासागरमा ‘एल–निनो’ विकसित भइसकेको र अझै बलियो बन्नेक्रममा समेत रहेकाले यसपटक मनसुनमा प्रभाव परेको जल तथा मौसम विज्ञान विभागका मौसमविद् सरोजकुमार पुडासैनीले बताए । ‘प्रशान्त महासागरको तापक्रम सरदरभन्दा बढी हुँदा दक्षिण एसियाली मनसुन कमजोर हुने गरेको यसअघिका तथ्यांक र अध्ययनले देखाएको छ । यसपटक पनि सोही प्रक्रियाका कारण भारतमै ढिलो गरी प्रवेश भएको छ,’ उनले भने, ‘नेपालमा पनि अझै भित्रिसकेको छैन । हामी अनुगमन गरिहेका छौँ । अझै केही दिन लाग्छ ।’
दक्षिण भारतमा पानी परे पनि उत्तरतिर सुक्खा छ । नेपालमा अबको केही दिनमा मनसुन भित्रिहाले पनि एकैपटक देशभर वर्षाको सम्भावना कम छ । ‘मनसुनी वायु भित्रिएर मात्र हुँदैन । पर्याप्त पानी पर्न हावामा जलवाष्प पनि हुनुपर्छ,’ मौसमविद् पुडासैनीले भने, ‘मनसुनी हावामा जलवाष्प कम छ ।’
यस वर्ष भारतमा पनि मनसुन आफ्नो नियमित मिति १ जुनभन्दा ढिलो गरी ४ जुनमा मात्र केरलामा प्रवेश गरेको थियो । सामान्यतया भारतको केरलामा मनसुन भित्रिएको १२ देखि १३ दिनपछि मात्र त्यो प्रणाली नेपाल आइपुग्ने गर्छ । त्यहाँ नै ढिला भएकाले नेपालमा पनि यसको असर देखिएको हो ।
मनसुन घोषणा गर्नका लागि वायुमण्डलको तल्लो तहदेखि माथिल्लो तह (करिब ५–६ किलोमिटर माथि) सम्म बलियो र जलवाष्पयुक्त हावा बहने निश्चित मापदण्ड पूरा हुनुपर्छ । तर, हाल नेपालमा पश्चिमी र स्थानीय वायु नै सक्रिय छ ।
विगतका वर्षमा पनि एल–निनोको प्रभाव रहँदा नेपालमा मनसुन ढिलो भित्रिएको तथ्यांक छ । यसअघि एल–निनोको प्रभाव रहेका वर्ष सन् १९७२ मा १८ जुन, १९८२ मन २७ जुन, १९८३ मा २४ जुन, १९८७ मा १४ जुन, १९९२ मा २१ जुन, १९९७ मा १४ जुन, २००२ मा १५ जुन, २००९ मा २३ जुन, २०१६ मा १५ जुन, २०१९ मा २० जुन र २०२३ मा १४ जुनमा मनसुन भित्रिएको थियो ।
एल–निनोका कारण मनसुन कमजोर हुन सक्ने
जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार हाल प्रशान्त महासागरमा ‘एल–निनो’ विकसित भइसकेको र यो अझै बलियो हुने क्रममा छ । यसको सिधा प्रभाव दक्षिण एसियासहित नेपालको मनसुनी प्रणालीमा पर्ने देखिएको छ । एल–निनो सक्रिय हुँदा नेपालमा मनसुन आगमन ढिलो हुनुका साथै यस वर्षको मनसुनसमेत कमजोर हुन सक्ने सम्भावना छ । विभागले यस वर्षको मसनुनमा औसतभन्दा कम पानी पर्ने र तापक्रम बढ्ने आकलन यसअघि नै सार्वजनिक गरिसकेको छ ।
पश्चिम तराईमा तातो हावा कायमै
स्थानीय वायुका कारण कोशी र गण्डकी तथा देशका पहाडी क्षेत्रमा पानी परिरहेको छ । तर, तराई, त्यसमा पनि पश्चिम तराईमा भने तापक्रम उच्च छ । सोमबार नेपालगन्जमा अधिकतम तापक्रम ३९.५ डिग्री सेल्सियस मापन भएको छ । त्यस्तै, धनगढीमा ३९, भैरहवामा ३७.८ र सिमरामा ३६.२ डिग्री सेल्सियस मापन भएको छ । विभागका अनुसार मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघ गर्जनसहित मध्यमस्तरको वर्षाको सम्भावना छ ।