चर्चित सेफ सन्तोष साहलाई एक वर्षअघि नै अदालतले बैंकिङ कसुर मुद्दामा दोषी ठहर गरी सजाय तोकेको खुलेको छ। ३० जेठ २०८२ मा जिल्ला अदालत, काठमाडौंले उनलाई एक महिना कैद र एक लाख २५ हजार जरिवाना सुनाएको थियो। २५ लाखको चेक बाउन्स मुद्दामा उनलाई अदालतले गत वर्ष दोषी ठहर गरेको अनुसन्धानबाट खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताए।
साहलाई शनिबार प्रहरीले अर्काे मुद्दामा जनकपुरबाट पक्राउ गरेको हो। रेस्टुरेन्ट बिक्रीको पैसा नदिएको भन्ने सकुन्तला थापा अधिकारीको उजुरीमा प्रहरीले उनलाई पक्राउ गरेको हो। अदालतले उनलाई तीन दिन थुनामा राख्न म्याद दिएको छ। साहले मिथिला थाली नामक रेस्टुरेन्ट चलाउँदै आएका छन्।