साढे सात करोडको कोकिनसहित ठमेलबाट तीन विदेशी पक्राउ

सोमबार, १ असार, २०८३
डिजिटल संस्करण

करिब साढे सात करोड रुपैयाँ पर्ने कोकिनसहित प्रहरीले तीन विदेशीलाई पक्राउ गरेको छ। लागुऔषध नियन्त्रण ब्युरोले कोकिन लिएर आएका सेनेगलका नागरिक र सो कोकिन लिन भारतबाट आएका दुईजनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा सेनेगलका ४३ वर्षीय अमादाउ सार र भारतकी २६ वर्षीया रुबी तथा ३१ वर्षीया सोनी छन्। 

साे कोकिन नाइजेरियाबाट इथियोपिया, कतार हुँदै काठमाडौं ल्याइएको ब्युरोका एसएसपी सुवासचन्द्र बोहराले बताए। एक साता लामो अप्रेसन चलाएर उनीहरूलाई पक्राउ गरिएको उनको भनाइ छ। 

सेनेगलका नागरिक २६ जेठमा काठमाडौं आएका थिए। उनले कोकिन रहेको ७६ वटा क्याप्सुल खाएका थिए। प्रहरीले स्वास्थ्यकर्मीको सहयोगमा सो क्याप्सुल निकालेर कोकिन बरामद गरेको हो। सो कोकिन लिन आएका दुई भारतीय युवती पनि ठमेलको होटेलबाट पक्राउ परेका हुन्। 
 

सुझावित समाचार