भारतको प्रसिद्ध धार्मिकस्थल ऋषिकेशमा अवस्थित जुना अखडाका आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरी नेपाल आउँदै छन्। असार ६ गते विराटनगरमा आयोजना हुन लागेको सनातन सम्मेलनका लागि अवधेशानन्द गिरी नेपाल आउन लागेका हुन्।
विराटनगरमा आयोजना हुन लागेको सनातन सम्मेलनमा अन्तर्राष्ट्रिय बौद्ध महासंघ नेपाल च्याप्टरका अध्यक्ष भिक्षु फुपु छेम्बे शेर्पा ‘थुप्तेन जिग्दोल’ र किराँत धर्मगुरु मुहिङ्गुम अंसिमाङ आत्मानन्द लिङ्देन ‘सेइङ’ पनि सहभागी हुनेछन्। सनातन सम्मेलनमा स्वामी अवधेशानन्द गिरी मुख्य वक्ताका रूपमा प्रस्तुत हुनेछन्।
असार ५ गते काठमाडौं ओर्लिने स्वामी अवधेशानन्द गिरी सोही दिन काठमाडौंमा आयोजना हुने प्रबुद्ध नागरिक गोष्ठीमा पनि सहभाी हुनेछन्। असार ७ गते पशुपतिनाथ र वसन्तपुरमा कुमारीदेविको दर्शन गरेपछि उनी भारत फर्किने कार्यक्रम छ।
सन् २००८ को ‘हिन्दु पुनर्जागरण पुरस्कार’बाट सम्मानित स्वामी अवधेशानन्द गिरी ‘जुना अखडा’का आचार्य महामण्डलेश्वर हुन्। जुना अखडा नागा साधुहरूको सबैभन्दा ठुलो अखडा हो। गिरीले हालसम्म करिब १० लाख नागा साधुहरूलाई सन्न्यासको दीक्षा दिइसकेकाछन्।