वन कर्मचारीले भिरबाट टेम्पो खसालिदिएको घटना के हो ?

आइतबार, ३१ जेठ, २०८३
डिजिटल संस्करण

कैलालीको गोदावरी नगरपालिका– ४, गाईमारेमा वनका कर्मचारीले एक महिलाको टेम्पो भिरबाट खसालिदिएका छन्। चुरे क्षेत्रको वन अतिक्रमण हटाउने क्रममा टेम्पो भिरबाट खसालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। घटना गत शुक्रबारको हो।

वन अतिक्रमण गरेर राखिएको भन्दै वन कर्मचारीले टेम्पो खसालेका हुन्। वनका कर्मचारीले धकेलेर टेम्पो भिरबाट खसालेको भिडियोमा देखिन्छ। उक्त टेम्पो सडकछेउमा राखेर गोदावरी नगरपालिका– ४, बासपानीका घनश्याम धामी र उनकी श्रीमती ४४ वर्षीया धनादेवी धामीले खुद्रा सामान राखेर बिक्री गर्दै आएका थिए।

उक्त टेम्पो बिग्रिएर नचल्ने अवस्थामा रहेको बताइएको छ। टेम्पोलाई घर लैजान्छु भन्दा पनि वनका कर्मचारीले नमानेको धनादेवीले बताएकी छिन्। टेम्पो खसाल्नुअघि वन कर्मचारीले सामान भने झारेका थिए। ‘अबदेखि यहाँ सामान राखेर बेच्दैनौँ, टेम्पो घर लैजान दिनु भनेर आग्रह गरेकी थिएँ, तर मानेनन्। सामान झारेर टेम्पो भिरबाट खसाइदिए,’ धामीले भनिन्। 

घरबाट बिहान सामान लगेर टेम्पोमा राखी दिनभरि बेच्ने र बेलुकी सामान ल्याएर घर आउने गरेको उनले बताइन्। टेम्पो भने त्यहीँ छोड्ने गरिएको थियो। टेम्पोमा चिया, चाउचाउ, अन्डा, बिस्कुटलगायत सामान बेच्ने गरेको र त्यसबाट हुने थोरै आम्दानीले घर व्यवहार चल्ने गरेको उनले बताएकी छिन्।

यता डिभिजन वन कार्यालय धनगढीले भने बिग्रिएको उक्त टेम्पो सडकछेउमा राखेर वन अतिक्रमण गर्न खोजिएको जनाएको छ। डिभिजन प्रमुख रामबिचारी ठाकुरले पटकपटक ताकेता गर्दा पनि हटाउन नमानेपछि उक्त अवस्था सिर्जना भएको बताए। अतिक्रमण हटाउन खटिएका वन कर्मचारीको टोलीले टेम्पो धकेल्न खोज्दा भिरालो जमिन अनियन्त्रित भएर टेम्पो खसेको उनले दाबी गरे।

‘उक्त टेम्पो गुड्ने वा चालू अवस्थाको होइन। चक्का र इन्जिन पूर्ण रूपमा बिग्रिएको र धकेलेर सार्नसमेत गाह्राे हुने फलामको अस्थिपञ्जर मात्र थियो। वन क्षेत्र अतिक्रमण गर्ने उद्देश्यले त्यसलाई पसलको हटरोको रूपमा त्यहाँ राखिएको थियो,’ धनगढीमा आज पत्रकार सम्मेलन गरेर ठाकुरले भने, ‘पटकपटक हटाउन आग्रह गर्दै आएका थियाैँ। एक महिनाअघि मात्र वनका कर्मचारीले टेम्पोलाई धकेलेर धामीको घरमा राखिदिएका थिए।’

अतिक्रमण गर्न पाँच महिनाअघि त्यहाँ खोकाछाप्रा खडा गरिएका र वन कार्यालयको निर्देशनपछि अन्य १० वटा खोकाछाप्रा हटे पनि टेम्पोमा खोका चलाइरहेका धामीले भने हट्न अटेरी गरेको डिभिजन वन प्रमुख ठाकुरले दाबी गरे। ‘धामीलाई टेम्पो हटाउन पटकपटक निर्देशन दिँदा पनि नहटाउने, जे गर्नोस् भन्दै अटेरी गरेर उनी गालीगलौचमा उत्रिएका थिए,’ ठाकुरले भने।

उक्त क्षेत्रमा चुरे अतिक्रमण गरी बनाइएका ४७ वटा टहरा अहिले हटाइएको डिभिजन वन कार्यालय धनगढीले जनाएको छ।
 

सुझावित समाचार