लुम्बिनीमा प्रहरीको नवीन कार्यक्रम– सुरक्षाका लागि नवप्रवर्तन

शनिबार, ३० जेठ, २०८३
डिजिटल संस्करण

सुरक्षाका लागि नवप्रवर्तनको नारासहित लुम्बिनी प्रदेशमा प्रहरीले एकैपटक तीनवटा नवीन कार्यक्रमको सुरुवात गरेको छ। नागरिकलाई प्रत्यक्ष रूपमा सचेतना र संवादमा सहभागी गराएर  ह्याकफरसेफ्टी नामक ह्याकाथन, लुम्बिनीमा शान्ति पदयात्रा र जनचेतना कार्यक्रमको सुरुवात गरिएको हो। 

ह्याकथन कार्यक्रमको शनिबार बुटवलस्थित प्रहरी तालिम केन्द्रमा उद्घाटन गरिएको छ। लुम्बिनी प्रदेशका डिआइजी भूपेन्द्र खत्रीले कार्यक्रमको उद्घाटन गरेका हुन्। 

सार्वजनिक सुरक्षा, नवप्रवर्तन तथा प्रविधिमा आधारित समाधान विकास गर्ने उद्देश्यले सुरु भएको ३६ घण्टे ह्याकाथनमा शैक्षिक संस्था, प्रविधि क्षेत्र तथा नवप्रवर्तन समुदायबाट आएका युवा प्रतिभाहरूको सहभागिता छ । ‘ह्याकफरसेफ्टी २०८३ मा विभिन्न सहभागीहरूले नवीन सोच, प्रविधिगत दक्षता तथा समस्या समाधान क्षमताको प्रयोग गरी समाज र सुरक्षासँग सम्बन्धित चुनौतीहरूको व्यावहारिक समाधान खोज्ने प्रयास गरिरहेका छन्,’ लुम्बिनी प्रदेश प्रहरी कार्यालयले भनेको छ, ‘यस कार्यक्रमले युवाहरूलाई केवल प्रतिस्पर्धामा सीमित नराखी सामाजिक उत्तरदायित्व र राष्ट्र निर्माणमा प्रविधिको प्रयोगबारे सोच्न प्रेरित गरिरहेको छ ।’ 

प्रविधिको माध्यमबाट सार्वजनिक सुरक्षा, साइबर अपराध नियन्त्रण, अनुसन्धान सहयोग तथा प्रहरी सेवामा योगदान दिन युवाहरूलाई आह्वान गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको डिआइजी खत्रीले बताए । उनी भन्छन्, ‘हामी केवल एउटा ह्याकाथन आयोजना गरिरहेका छैनौँ, हामी युवाहरूलाई सार्वजनिक सुरक्षाका वास्तविक समस्याहरू समाधान गर्न आमन्त्रण गरिरहेका छौँ।’ यसका लागि प्रहरीले एक सयवटा समूह बनाएको छ। एउटा समूहमा तीनदेखि चारजना छन्। उनीहरूले निरन्तर ३६ घण्टा निश्चित विषयमा छलफल गरेर नयाँ आइडिया निकाल्नेछन्। 

यो कार्यक्रमअन्तर्गत समाधानहरूको मूल्यांकन गरी उत्कृष्ट परियोजनाहरूको छनोट गरिने प्रहरीले जनाएको छ । समाज र सुरक्षासँग सम्बन्धित समस्याको यस्ता टोलीले समाधान खोज्नेछन्। तिनै समाधानमार्फत प्रहरी सेवालाई प्रभावकारी, आधुनिक र प्रविधिमैत्री बनाउने प्रहरीको लक्ष्य छ ।  

त्यस्तै, शान्ति पदयात्रामार्फत बुद्ध जन्मस्थल लुम्बिनीबाट शान्ति, सहिष्णुता, सामाजिक सदभाव र सामूहिक जिम्मेवारीको सन्देश प्रवाह गर्ने प्रहरीको उद्देश्य छ। ‘यस कार्यक्रममा सहभागी विद्यार्थी, अभिभावक, नागरिक समाज, स्थानीय समुदाय तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूसँग प्रत्यक्ष अन्तरक्रिया र जनचेतनामूलक सन्देश प्रवाह गरिनेछ। शान्ति केवल प्रहरीको जिम्मेवारी होइन, सम्पूर्ण समाजको साझा दायित्व हो भन्ने सन्देश यस कार्यक्रमले दिनेछ,’ प्रहरीको विज्ञप्तिमा भनिएको छ। 

जनचेतना कार्यक्रममार्फ विशेषगरी युवा पुस्ता, विद्यार्थी, अभिभावक तथा आम नागरिकसँग प्रत्यक्ष संवाद गर्ने प्रहरी योजना छ। बढ्दो साइबर अपराध, लागुऔषध दुर्व्यसन, सडक सुरक्षा, आत्महत्या न्यूनीकरण, डिजिटल सुरक्षालगायतका विषयमा सचेतना अभिवृद्धि गरी समाजका विविध वर्गलाई एउटै स्थानमा ल्याई संवाद, सिकाइ र सहकार्यको वातावरण सिर्जना गर्ने प्रयासका रूपमा यी कार्यक्रम थालिएको प्रहरीको भनाइ छ । 

तीनैवटा कार्यक्रमको साझा उद्देश्य सुरक्षित, सचेत, जिम्मेवार र प्रविधिमैत्री समाज निर्माण गर्नु रहेको प्रदेश प्रही प्रमुख डिआइजी खत्री बताउँछन् । ‘एकातर्फ हामी प्रविधिका युवासँग जोडिरहेका छौँ, अर्कोतर्फ शान्ति र सामाजिक सदभावको सन्देश प्रवाह गरिरहेका छौ र अर्कोतर्फ नागरिकहरूलाई प्रत्यक्ष रूपमा सचेतना र संवादमा सहभागी गराइरहेका छौँ, यी तीनवटै कार्यक्रम मिलेर सार्वजनिक सुरक्षा र सामाजिक उत्तरदायित्वलाई नयाँ ढंगले प्रस्तुत गर्ने हाम्रो प्रयास हो,’ प्रहरीले भनेको छ, ‘यी तीनवटै कार्यक्रम फरक–फरक स्थानमा, फरक प्रकृतिका सहभागीहरूलाई लक्षित गरी आयोजना गरिएका छन्। किनभने हामी विश्वास गर्छौँ कि सार्वजनिक सुरक्षा, सामाजिक जिम्मेवारी र सचेतनाको सन्देश सबैका लागि एउटै हुन सक्छ, तर त्यो सन्देश दिने तरिका सबैका लागि एउटै हुन सक्दैन।’ 

प्रदेश प्रहरी कार्यालयमा कार्यरत इन्स्पेक्टरद्वय ईश्वर खड्का र प्रशान्त मैनाली दुईवटाको सुझावअनुसार यो कार्यक्रम गरिएको डिआइजी खत्रीले बताए। हाल लुम्बिनी प्रदेशबाट सुरु गरिएको र उपलब्धिमूलक हुनसकेमा देशैभरि आयोजना गरिने प्रहरीले जनाएको छ। 
 

सुझावित समाचार