धनकुटामा भरुवा बन्दुक पड्किएर उपचारका क्रममा एकजनाको मृत्यु भएको छ ।
भरुवा बन्दुकको नाल सफा गर्ने क्रममा बारुद लोड भएको बन्दुकको नाल आगोमा तताई मुखले फुक्ने क्रममा अचानक बन्दुक पड्किँदा धनकुटाको महालक्ष्मी नगरपालिका–९, खाल्डे कटहरेका ४७ वर्षीय रामकृष्ण थापाको मृत्यु भएको हो।
बन्दुकको नाल सफा गर्ने क्रममा घाइते भएका थापालाई जिल्ला अस्पताल धनकुटा ल्याइएको थियो।
उनको उपचारकै क्रममा गएराति साढे ९ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घटनास्थलमा खटिएको प्रहरी चौकी जितपुरको टोलीले एकनाले भरुवा बन्दुक नियन्त्रणमा लिएको र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक पाण्डव राजवंशीको कमान्डमा टोली घटनास्थलमा खटिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।