अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट समता, सामाजिक न्याय र समावेशी विकासमा केन्द्रित रहेको बताएका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले बजेटले आर्थिक वृद्धि र समानताको सन्तुलन कायम गर्ने लक्ष्य लिएको उल्लेख गरे। विपक्षी दलहरूले संविधानको मर्मविपरीत बजेट आएको आरोप लगाएको प्रसंगमा उनले त्यसलाई अस्वीकार गर्दै बजेट समन्यायिक समुन्नति र समृद्धितर्फ उन्मुख रहेको दाबी गरे।
अर्थमन्त्री वाग्लेले बजेटमा ‘समाजवाद’ शब्द स्पष्ट रूपमा उल्लेख नभए पनि समताको एजेन्डालाई व्यवहारमा कार्यान्वयन गर्ने प्रयास गरिएको बताए। उनले सरकार पाँचवर्षे प्रतिबद्धता र जनताले अनुमोदन गरेको एजेन्डाप्रति दृढ रहेको उल्लेख गर्दै नीति, कार्यक्रम, बजेटका सिद्धान्त तथा प्राथमिकता र बजेटबिच उच्च स्तरको तालमेल रहेको जिकिर गरे।
उनले आफ्नो पार्टीको भाषाशैली वा दृष्टिकोणअनुसार मात्र बजेटको मूल्यांकन नगर्न आग्रह गर्दै सरकारले जनतासँग गरेको वाचा कार्यान्वयनलाई केन्द्रमा राखेर कार्यक्रम अघि बढाएको बताए। साथै, १०० वटा शासकीय सुधार, नीति तथा कार्यक्रम र बजेटबिच अभूतपूर्व संगति रहेको उनको भनाइ थियो।