बर्दियाको बारबर्दिया नगरपालिका-२ मा रहेको कुमराघाटबाट करिब एक हजार टिपर नदीजन्य पदार्थ अवैध उत्खनन भएको पाइएको छ । कुमराघाटबाट ९८६ टिपर नदीजन्य पदार्थ अवैध उत्खनन भएको पाइएको हो ।
अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन भएको स्थानमा मंगलबार जिल्ला अनुगमन समिति, बारबर्दिया र मधुवन नगरपालिका स्थानीयलगायतको टोलीले संयुक्त रूपमा अनुगमन गरेको थियो ।
बारबर्दिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले पालिकाले जब्दीघाट दुङ्ही र चन्दनपुर घाटमा नदीजन्य पदार्थका लागि ३ पटक ठेक्का गर्दा पनि ठेक्का लिनका लागि कसैले टेन्डर नपरेपछि अमानतबाट नदीजन्य पदार्थ बिक्री गरेको बताए। उनले भने, `जब्दीघाट दुङ्ही र चन्दनपुरघाटमा प्रारम्भिक वातावरणीय परीक्षणको प्रतिवेदनमा तोकेको परिमाणअनुसार नदीजन्य पदार्थ निकालेपछि अहिले नदीबाट नदीजन्य पदार्थ उत्खनन रोकिएको छ ।´
अमानतमा लठुवाघाट र बरैयाघाट नदीजन्य पदार्थ उत्खनन र बिक्री-वितरण प्रमुख प्रशासकीय अधिकृत भण्डारीले जानकारी दिए ।
बारबर्दिया नगरपालिका नगरप्रमुख छविलाल थारूले कुमराघाट मापदण्ड बिपरित पाँच फिटसम्म खनेर नदीजन्य पदार्थ उत्खनन गरेको पाइएको बताए। उनले भने, `अनुगमनको क्रममा पालिकाले ठेक्का नगरेको स्थानबाट नदीजन्य पदार्थ उत्खनन गरिएको छ। मापदण्डविपरीत नदीबाट नदीजन्य पदार्थ उत्खनन गरेको बारेमा खोजतलास गरी दोषी पहिचान गरेर कानुनी कारबाहीको दायरा ल्याउनेछ।’
अवैध रूपमा कुमराघाटबाट ठुलो परिणाममा नदीजन्य पदार्थ गर्नेको अझैसम्म पहिचान हुन सकेको छैन भने कुमराघाटमा नदीजन्य पदार्थ उत्खनन गर्दा बाढी आउन सक्ने भन्दै नदीजन्य पदार्थ उत्खनन गर्न नहुने भन्दै स्थानीयले विरोध परेपछि पालिकाले सो स्थानमा ठेक्का गरेको थिएन।