गेरुका मेलामा भक्तजनको भिड

बुधबार, २७ जेठ, २०८३
डिजिटल संस्करण

पुरुषोत्तम मास (मलमास)को अन्त्य हुनै लाग्दा महोत्तरीमा आठौँ मकरका दिन गेरुका स्नान गर्नेको उल्लेख्य उपस्थिति देखिएको छ । महोत्तरीको सोनमा गाउँपालिका– ५, खैरबन्नीस्थित उत्तराहिनी र कन्तवा नदीको संगमस्थल रहेको गेरुका धाममा मकर स्नान गर्नेको भिड देखिएको हो ।

महोत्तरीकै लोहारपट्टी नगरपालिका– ४, खुट्टस्थित विग्ही र गेरुका नदीको संगम गेरुका धाममा हजारौँ श्रद्धालुले स्नान गरेका छन् । मटिहानी नगरपालिका– ६ स्थित विग्ही नदीमा समेत मकर स्नान गर्नेको भिड लागेको छ ।

प्रायः महोत्तरी, धनुषा, सर्लाही, सिराहा, सप्तरीलगायत मधेशका विभिन्न जिल्लाका साथै भारतको सीमावर्ती क्षेत्रबाट समेत भक्तजन मकर स्नानका लागि आउने गरेका छन् । लोहारपट्टी नगरपालिका र सोनमा गाउँपालिकाले आ–आफ्नो गेरुकाधाममा स्थानीय क्लबसमेतको सहयोगमा स्वास्थ्यलगायतको शिविर आयोजना गर्दै आएको छ ।

मटिहानी नगरपालिकाले समेत मकर स्नान गर्ने स्थलमा नगरपालिकाबाट सहजताका लागि टिम परिचालन गर्दै आएको छ । प्रत्येक तीन वर्षमा एकपटक पर्ने पुरुषोत्तम मासमा सञ्चालन हुने मकर स्थान र सोसँगै लाग्ने मेला यसपालि ३ जेठदेखि सुरु भई १ असारसम्म चल्नेछ ।

मेलामा पर्ने प्रत्येक मकर आइतबार र मंगलबार विशेष महŒवका दिन मानिन्छन् । धार्मिक विश्वासअनुसार गेरुका क्षेत्रमा स्नान गरी पूजा–आराधना गर्दा पुण्य प्राप्त हुने तथा मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
 

See More On

सुझावित समाचार