प्रहरीले राजविराज नगरपालिकाको ताला तोडेपछि बजार बन्द

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

वर्षौँदेखि ‘बिटौरी’ जग्गाको लालपुर्जा नपाएको विरोधमा स्थानीयले राजविराज नगरपालिका कार्यालयमा लगाएको ताला मंगलबार दिउँसो प्रहरीले तोडेको छ। प्रहरीले बल प्रयोग गरी ताला तोडेपछि आक्रोशित बनेका स्थानीय बासिन्दाले सडकमा उत्रिएर टायर बाल्दै राजविराज बजारसमेत पूर्ण रूपमा बन्द गराएका छन्।

औषधि पसलबाहेक सबै पसल बन्द गराएको राजविराज पीडित संघर्ष समितिले जनाएको छ। माग सम्बोधन गर्न जनप्रतिनिधिले पहल गर्नुको साटो अनसनरत व्यवसायीमाथि प्रहरी लगाएर बलजफ्ती गरेको स्थानीय दीपेन्द्र चौधरीले बताए। ‘हामी लालपुर्जाका लागि तीन सातादेखि चरणबद्ध आन्दोलन गरिरहेका छौँ, अचानक प्रहरी आएर दमन गरेपछि बजार बन्द गराएका हौँ,’ उनले भने। 

संघर्ष समितिले नगरको करिब ६८ बिघा क्षेत्रफलमा ‘बिटौरी’ तथा ‘ब्लक’ जग्गामा पुस्तौँदेखि बसोबास गर्दै आएका पाँच हजार दुई सय परिवारले अहिलेसम्म लालपुर्जा नपाएको भन्दै अविलम्ब लालपुर्जा उपलब्ध गराउनुपर्ने माग राखेको छ।

गत आइतबार अनसनस्थलमा आएका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले ‘बिटौरी’ जग्गाको लालपुर्जाको समस्या वडा कार्यालय, नगरपालिका वा भूमि प्रशासन कार्यालयले सुल्झाउनै नसक्ने जानकारी गराएका थिए। यहाँबाट सुल्झाउन नसकिने भएपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन र गृह मन्त्रालयमा लेखेर पठाइसकेको तथा त्यहीँ पुगेर थप ध्यानाकर्षण गराउन प्रजिअ पोखरेलले आन्दोलनरत पक्षलाई सुझाव दिँदै अनसन स्थगित गर्न आग्रह गरेका थिए।

त्यसपछि स्थानीय सांसद तथा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले भिडियो कलमार्फत काठमाडौं आएर छलफल गर्न आग्रह गरेका थिए। तर, ठोस पहल नभएसम्म तालाबन्दी र अनशन जारी राख्ने व्यवसायीको अडानका कारण आर्थिक वर्षको अन्त्यमा नगरपालिकाको कामकाज पूर्ण रूपमा प्रभावित भएको छ।

सुझावित समाचार