डिडिसीका उत्पादन प्रवर्द्धन गर्न मन्त्रिपरिषद्‍मा छलफल, मन्त्रीहरूलाई बाँडियो प्याकेज

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न सरकारले विशेष अग्रसरता देखाएको छ। मन्त्रिपरिषद्को आजको बैठकमा सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान (डिडिसी)का उत्पादनहरूको देशव्यापी प्रवर्द्धन तथा बजार विस्तार गर्ने विषयमा गहन छलफल भएको छ।

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले मन्त्रिपरिषद् बैठकमा डिडिसीको उत्पादन प्रवर्द्धनको एजेन्डालाई मुख्य रूपमा उठाएकी थिइन्। बैठकमा मन्त्री चौधरीले स्वदेशी दुग्ध उत्पादनको संरक्षण, किसानको हित प्रवर्द्धन तथा संस्थानको व्यावसायिक सुदृढीकरणका लागि डिडिसीका उत्पादनहरूको प्रयोग र प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।

डिडिसीलाई थप प्रतिस्पर्धी, गुणस्तरीय र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारका विभिन्न निकायबिच आपसी समन्वय आवश्यक रहेकाे उनको भनाइ थियो। साथै, नेपाली दुग्ध किसानबाट संकलित दुधको उचित व्यवस्थापन र उत्पादनको बजार सुनिश्चित गर्न सरकारी तहबाट आवश्यक सहयोग हुनुपर्नेमा उनको विशेष जोड थियो।

त्यसै क्रममा मन्त्री चौधरीले प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूलाई डिडिसीका उत्पादनहरूको प्याकेज वितरण गरेकी थिइन्।

लामो समयदेखि नेपाली उपभोक्तामाझ शुद्ध र गुणस्तरीय दुध, घिउ, दही, पनिर, चिजलगायतका दुग्धजन्य उत्पादनहरू उपलब्ध गराउँदै आएको डिडिसीको यो अभियानलाई थप ऊर्जा दिन प्रधानमन्त्री बालेन्द्र शाह स्वयं पनि लागेका छन्। उनले सामाजिक सञ्जालमार्फत डिडिसीका उत्पादनहरूको प्रवर्द्धन र प्रचार गरेर स्वदेशी वस्तुको उपभोग बढाउने बलियो सन्देश दिएका छन्।

See More On

सुझावित समाचार