सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी नीति लिएको भन्दै धनकुटाका पत्रकारले विरोधस्वरूप सरकारलाई हस्ताक्षर बुझाएका छन्। नेपाल पत्रकार महासंघ धनकुटा शाखाले जिल्लामा हस्ताक्षर संकलन अभियान चलाएको थियो। महासंघले धनकुटाका निमित्त प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीमार्फत हस्ताक्षरसहितको ज्ञापनपत्र सरकारलाई बुझाएको हो।
नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष विदुर खवासको नेतृत्वमा संस्थापक सभापति सञ्जयसन्तोषी राई, सल्लाहकारद्वय सन्तोष रुचाल र विनोद घिमिरे, सचिव हरिबहादुर लम्जेल, कोषाध्यक्ष नारायणकुमार राई तथा सञ्चारकर्मी कोकिला भण्डारी र विपिन दाहाललगायतको टोलीले संकलित हस्ताक्षर निमित्त प्रजिअलाई बुझाएको हो।
नेपाल पत्रकार महासंघले सूचना तथा विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेज गर्न, प्रेसको संवैधानिक अधिकारको रक्षा गर्न तथा नागरिकको निर्वाध सूचना उपभोगको अधिकार सुनिश्चित गर्न माग गर्दै देशव्यापी दबाबमूलक आन्दोलन सञ्चालन गरिरहेको जनाएको छ।
०८२ चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी परिपत्रले सरकारी विज्ञापन तथा सूचनाबाट निजी सञ्चारमाध्यमलाई वञ्चित गर्ने प्रयास गरेको आरोप लगाउँदै महासंघले त्यसको खारेजीको मागसहित चरणबद्ध आन्दोलन जारी राखेको अध्यक्ष खवासले बताए।