विद्यार्थीकाे मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि ‘भ्वाइस माइन्ड एन्ड फ्युचर २०८३’ सम्पन्न

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

विद्यार्थको मानसिक स्वास्थ्य प्रवर्द्धन तथा मनोसामाजिक समस्याको समयमै पहिचान र व्यवस्थापनका विषयमा केन्द्रित ‘भ्वाइस, माइन्ड एन्ड फ्युचर २०८३’ कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। कार्यक्रमका सहभागी विद्यालयका प्रधानाध्यापक तथा विज्ञहरूले बालबालिकाको मानसिक स्वास्थ्यलाई शिक्षाको प्रमुख प्राथमिकतामा राख्न सरकारसँग विशेष संरचना र लगानीको माग गरेका छन्।

गोकर्णेश्वर नगरपालिका र नेसनल सोलुसन एन्ड रिसर्च सेन्टर (एनएसआरसी)को संयुक्त आयोजनामा भएको कार्यक्रममा बालबालिकामा बढ्दो मानसिक स्वास्थ्य समस्याका कारण उनीहरूको सिकाइ तथा समग्र विकासमा परेको प्रभावबारे गम्भीर छलफल गरिएको थियो।

कार्यक्रममा सहभागी शिक्षक तथा प्रधानाध्यापकले विशेष आवश्यकता तथा मानसिक स्वास्थ्य चुनौती भएका बालबालिकाका लागि मैत्रीपूर्ण शैक्षिक वातावरण निर्माण गर्न छुट्टै संरचना विकास गर्नुपर्नेमा जोड दिएका थिए। उनीहरूले यस्ता बालबालिकाका लागि विशेष विद्यालय स्थापना, शिक्षकलाई पर्याप्त तालिम, सहज पाठ्यक्रम तथा पाठ्यसामग्रीको विकास र विद्यालयमा मानसिक स्वास्थ्य परामर्शदाता नियुक्तिका लागि सरकारी लगानी आवश्यक रहेको बताए।

कार्यक्रममा मनोस्वास्थ्य तथा न्युरोविकाससम्बन्धी विज्ञ डा. रुजा श्रेष्ठले बालबालिकाको मानसिक स्वास्थ्यमा न्युरोविकासजन्य तथा स्नायुसम्बन्धी अवस्थाले पार्ने प्रभावबारे जानकारी दिइन्। उनले कन्डक्ट डिसअर्डरलगायतका मानसिक स्वास्थ्य समस्याबारे चर्चा गर्दै कतिपय समस्या गर्भावस्थादेखि नै देखिन सक्ने र समयमै पहिचान तथा उपचार गर्न सके बालबालिकाको जीवन सहज बनाउन सकिने बताइन्।

उनका अनुसार अभिभावकमा पर्याप्त जनचेतनाको अभाव तथा मानसिक स्वास्थ्य समस्यालाई स्वीकार गर्न नसक्ने सामाजिक प्रवृत्तिका कारण धेरै बालबालिका आवश्यक सहयोगबाट वञ्चित भइरहेका छन्। विद्यालय, परिवार र शिक्षकबिचको समन्वयले उपचार तथा सकारात्मक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

सुझावित समाचार