दुई वर्षमा बन्नुपर्ने नर्घो–फकिरा जोड्ने पुल एक दशक हुँदा पनि बनेन

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

सामान्यतया एउटा सानो वा मध्यम प्रकृतिको पक्की पुल बन्न एकदेखि दुई वर्ष लाग्छ । आधुनिक प्रविधि र अलि लामो पुल नै भए पनि बढीमा तीन–चार वर्षमा निर्माण सम्पन्न भइसक्नुपर्ने हो । तर, सप्तरीमा एउटा यस्तो पुल छ, जसको निर्माण सुरु भएको एक दशकभन्दा बढी समय भइसक्यो, तर निर्माण सकिएको छैन ।

सप्तरीको राजगढ गाउँपालिका– ३ स्थित नर्घो र फकिरा जोड्ने मुतनी नदीको पुल निर्माण सुरु भएको एक दशक बितिसक्दासमेत पुलको काम अझै अधुरै छ, जसका कारण फकिरा, कुपही, रम्पुरा, इनरुवा र झुटकीलगायत आधा दर्जन गाउँका बासिन्दा वर्षौँदेखि जोखिमपूर्ण र कष्टकर आवतजावत गर्न बाध्य छन् ।

२ जेठ ०७३ सालमा पाँच करोड ४० लाख ९३ हजारमा टेन्डर पाएर जनकपुरस्थित रोशन कन्स्ट्रक्सनले पुल निर्माण सुरु गर्यो । तर, कम्पनीले १० वर्ष लगाएर पनि काम सम्पन्न गर्न सकेको छैन । स्थानीय शम्भु यादवले गाउँमा कसैलाई गम्भीर स्वास्थ्य समस्या आइलागे समयमै अस्पताल पुर्याउनु ‘भाग्य’ भरोसाजस्तै हुने गरेको बताए ।

उनले भने, ‘पुल नबन्दाको सबैभन्दा ठुलो मार सुत्केरी र आकस्मिक बिरामीलाई परेको छ । बिरामी पर्दा गाउँमा एम्बुलेन्स वा गाडी छिर्न सक्ने अवस्था नै छैन । आकस्मिक अवस्थामा बिरामीलाई खाटमा बोकेर नहरको साँघुरो र जोखिमपूर्ण बाटो हुँदै मुख्य सडकसम्म पुर्याउनुपर्छ, वर्षा सुरु भएपछि त मुतनी नदीको बहाव यति बढ्छ कि बिरामी अस्पताल लैजानु त परको कुरा, ज्यान जोगाउनै मुस्किल पर्छ ।’

स्थानीय मनोज रामले सदरमुकाम राजविराज जाने सबैभन्दा छोटो र पायक पर्ने मार्ग यही भएकाले पुल नबन्दा आर्थिक र सामाजिक जीवन नै ठप्प भएको बताए । उनले भने, ‘दैनिक उपभोग्य सामान किन्न, तरकारी बजार जान र बालबालिकालाई विद्यालय पठाउन समेत नर्घो धाउनुपर्ने फकिरा र कुपहीका बासिन्दाले बर्खायाममा झन्डै १० किलोमिटर घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।’

पटक–पटक म्याद थपिँदै आएको पुलको  काम अन्तिम चरणमा पुगेको सडक डिभिजन कार्यालय लहानका इन्जिनियर दिलीप यादवले बताए ।उनका अनुसार ठेकेदारले आउँदो असारभित्रै सम्पूर्ण काम सकेर पुल  हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएकाे बताए। पुलको भौतिक प्रगति ८५ प्रतिशत भइसकेको र हालसम्म ६ पटकसम्म म्याद थप भइसकेको छ। इन्जिनियर यादवले भने, ‘अन्तिमपटकका लागि थपिएको म्याद आगामी असार २५ गते सकिँदै छ।’ सोही अवधिअगावै सम्पूर्ण बाँकी काम सकेर ठेकेदारले पुल हस्तान्तरण गर्ने उनले बताए ।

सुझावित समाचार