प्रतिनिधि विवादका कारण उदयपुरमा स्थगित भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम जिल्ला अधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रिया पुनः सुरु भएको छ। निर्वाचन कार्यतालिका रद्द भएपछि सोमबार नयाँ कार्यतालिकाअनुसार पुनः उम्मेदवारी दर्ता भएको हो।
निर्वाचन समितिका संयोजक नारायण घिमिरेका अनुसार जिल्ला सभापतिका लागि चित्रकुमार कार्की, जनक बस्नेत र ध्रुवप्रसाद पोखरेलले उम्मेदवारी दर्ता गराएकामा पोखरेलले फिर्ता लिएका छन्। उपसभापतिमा किरण राउत र कृष्णकुमारी घिमिरे श्रेष्ठ प्रतिस्पर्धामा छन्।
यसैगरी, जिल्ला सचिव पदका लागि जनार्दनकुमार कार्की, भुवन खतिवडा र सूर्यबहादुर तामाङ चुनावी मैदानमा उत्रिएका छन् भने सहसचिव पदमा सूर्यकुमार राई र हुकुममणि पाण्डेबिच प्रतिस्पर्धा हुने भएको छ।
त्यस्तै, पाँचजना जिल्ला सदस्य पदका लागि अमरबहादुर तामाङ, कौशिला कार्की, गुरुदेव कार्की, तेजमान विश्वकर्मा, पवित्र भट्टराई, बब्लुकुमार गुप्ता, सशिला थापा, सुनीताकुमारी चौधरी र हेमकुमारी चौधरीले उम्मेदवारी दिएका छन्।
यसअघि आइतबार उद्घाटन सत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रियामा प्रवेश गर्ने तयारी भइरहेका वेला प्रतिनिधि छनोट र मतदान अधिकारसम्बन्धी विवाद चर्किएको थियो। विवाद बढेपछि अधिवेशनस्थलमा नाराबाजीसमेत भएको थियो। प्रतिनिधिहरूले नेतृत्व चयन प्रक्रियामा बाह्य हस्तक्षेप भएको आरोप लगाउँदै निष्पक्ष र पारदर्शी निर्वाचनको माग गरेका थिए।
विवादका कारण निर्वाचन समितिले आइतबारको सम्पूर्ण निर्वाचन कार्यतालिका रद्द गर्दै पुनः उम्मेदवारी मनोनयनबाट प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो। यससँगै शनिबार दर्ता भएका सबै उम्मेदवारी स्वतः खारेज भएका थिए।
निर्वाचन समितिका संयोजक घिमिरेका अनुसार हाल २५० जना मात्र प्रतिनिधि छनोट भएका छन्। उनले भने, ‘यसअघि चार सय प्रतिनिधित तथा मतदाता भएकाले विवाद भएको थियो।’