रास्वपाको जिल्ला अधिवेशन ५६ जिल्लामा सम्पन्न

सोमबार, २५ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर सञ्चालन गरेको जिल्ला अधिवेशनअन्तर्गत हालसम्म ५६ जिल्लामा अधिवेशन सम्पन्न गरेको छ भने १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको जनाएको छ।

पार्टीले शनिबार र आइतबार गरी दुई चरणमा जिल्ला अधिवेशन आयोजना गरेको थियो। शनिबार ३८ जिल्लामा अधिवेशन सम्पन्न भएको थियो भने आइतबार सुरु भएका २८ जिल्लामध्ये अधिकांशमा नयाँ जिल्ला कार्यसमिति चयन भइसकेको छ।

रास्वपाका प्रवक्ता मनीष झाका अनुसार कोशी प्रदेशका अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ भने उदयपुरमा निर्वाचनको तयारी भइरहेको छ। मधेश प्रदेशका महोत्तरी, रौतहट, सिराहा, पर्सा र सर्लाहीमा निर्वाचन प्रक्रिया अगाडि बढेको छ। सप्तरी र बारामा सोमबार तथा धनुषामा मंगलबार अधिवेशन हुने कार्यक्रम तय गरिएको छ।

बागमती प्रदेशका काठमाडौंसहित अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। यद्यपि, सिन्धुपाल्चोकमा अधिवेशन स्थगित भएको छ। गण्डकी प्रदेशका अधिकांश जिल्लामा अधिवेशन सकिएको छ भने बागलुङमा उजुरी परेपछि प्रक्रिया रोकिएको छ। नवलपरासी (पूर्व) मा निर्वाचन जारी रहेको पार्टीले जनाएको छ।

लुम्बिनी प्रदेशका अधिकांश जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। कर्णाली प्रदेशका केही जिल्लामा निर्वाचन प्रक्रिया जारी रहँदा सुदूरपश्चिमका अधिकांश जिल्लामा अधिवेशन सकिएको र डोटी तथा बाजुरामा निर्वाचन हुन बाँकी रहेको जानकारी दिइएको छ।

रास्वपाले यही जेठ २६ गतेदेखि प्रदेश अधिवेशन सुरु गर्ने तयारी गरेको छ। पहिलो चरणमा बागमती प्रदेशको अधिवेशन मंगलबार हुने तय भएको छ। तल्ला तहका संगठनात्मक संरचनाको अधिवेशन सम्पन्न गरेपछि पार्टी आगामी असार ७ देखि ९ गतेसम्म चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन आयोजना गर्ने तयारीमा जुटेको छ।

पार्टीले यसअघि देशभरका चार हजार २५० वडा र ५१६ पालिकामा अधिवेशन सम्पन्न गरिसकेको जनाएको छ।

सुझावित समाचार