सुदूरपश्चिममा मन्त्रिपरिषद् पुनर्गठन हुँदै

कांग्रेसमा मन्त्रीको नाम छान्न सकस, एमालेले पठायो चार नाम

सोमबार, २५ जेठ, २०८३
डिजिटल संस्करण

बजेट ल्याउन एक साता मात्र बाँकी रहँदा सुदूरपश्चिम प्रदेशमा मन्त्रीहरू फेरबदल गर्न लागिएको छ । संसदीय दलभित्र देखिएको विवाद मिलाउन सत्ताको नेतृत्व गरिरहेको कांग्रेसले आफ्ना सबै मन्त्री फेरबदल गर्ने निर्णय गरेपछि सत्तासाझेदार एमालेले पनि मन्त्रीहरू फिर्ता बोलाएर नयाँलाई पठाउने तयारी गरेको छ । सोमबार मन्त्री नियुक्ति र शपथ गराउने तयारी छ ।

कांग्रेस र एमालेले सबै मन्त्री फिर्ता बोलाएर नयाँलाई पठाउन लागेकाले सरकारमा मुख्यमन्त्री कमलबहादुर शाहबाहेक सबै मन्त्री फेरिँदै छन् । कांग्रेसमा दलभित्र उत्पन्न विवादका कारण दलका नेतासमेत रहेका मुख्यमन्त्री शाहबाहेक अरू सबै मन्त्री फिर्ता बोलाउने र नयाँलाई पठाउने सहमतिमा टुंगिएको छ । भागबन्डाका आधारमा मन्त्री फेरबदल गर्ने सहमति भएपछि कांग्रेसका दुवै पक्ष मन्त्रीको नाम टुंग्याउन छलफलमा छन् । 


कांग्रेस सुदूरपश्चिमका प्रमुख सचेतक विक्रमसिंह धामी भन्छन् –सोमबार मन्त्रिपरिषद् पुनर्गठन हुँदै छ । अहिलेका सबै मन्त्री फिर्ता बोलाएर नयाँलाई पठाउन लागिएको हो ।

मुख्यमन्त्री शाहलाई दलको नेता र मुख्यमन्त्रीबाट हटाउन संसदीय दलमा नौजना सांसदले गत मंगलबार अविश्वासको प्रस्ताव दर्ता गरेपछि कांग्रेस संसदीय दलमा विवाद चर्किएको थियो । प्रदेश सभामा रहेका कांग्रेसका १८ मध्ये नौ सांसद विपक्षमा उभिँदा धरापमा परेको मुख्यमन्त्री शाहको पद हस्ताक्षर गर्नेमध्येका सांसद रक्षा महराले त्यही दिन बेलुकी फिर्ता लिएको घोषणा गरेसँगै जोगिए पनि संसदीय दलभित्रको विवाद भने कायम थियो । संसदीय दलमा देखिएको विवाद समाधानका लागि कांग्रेसले खटाएका पार्टीका सहमहामन्त्री उदयशमशेर राणा र केन्द्रीय सदस्य राजन केसीको उपस्थितिमा दुवै पक्षबिच भएको छलफलमा मन्त्रीहरूलाई फिर्ता बोलाएर भागबन्डाका आधारमा नयाँ मन्त्री नियुक्त गर्ने सहमति जुटेको हो ।

मुख्यमन्त्रीलाई कायम राखेर मन्त्री फिर्ता बोलाउने र दुवै समूहबाट नयाँलाई नियुक्त गर्ने सहमति भएपछि संसदीय दलमा देखिएको विवाद तत्कालका लागि समाधान भएको अविश्वासको प्रस्तावको अगुवाइ गरेका सांसद दिवानसिंह विष्टले बताए । दलमा अविश्वासको प्रस्ताव पेस गर्ने पक्षले दुई मन्त्री र एक राज्यमन्त्री लिने तथा मुख्यमन्त्रीले आफ्नो पक्षबाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्ने सहमति छ ।

सांसद विष्ट, महरासहित मानबहादुर रावल, पदमबहादुर शाही, गीताकुमारी चौधरी, तुलसी देवकोटा, बेलबहादुर रानामगर, ललिता सुनार र जुनाकुमारी दानीले शाहविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए । त्यसको नेतृत्व गरेका विष्टले भने आफू मन्त्री नबन्ने र समूहबाट अरूलाई पठाउने बताएका छन् । १८ सांसदमध्ये १५ सांसद निवर्तमान सभापति शेरबहादुर देउवा पक्षबाट र विष्टसहित तीनजना इतर समूहबाट निर्वाचित भएका थिए । शाहलाई मुख्यमन्त्रीबाट हटाउने विषयमा भने देउवा पक्षमै दुई धार देखिँदै आएको छ । 

एमालेबाट प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्की, भूमि व्यवस्थामन्त्री वीरबहादुर थापा, भौतिक पूर्वाधारमन्त्री सुरेन्द्रबहादुर पाल र राज्यमन्त्री निर्मलादेवी साउद छन् । नयाँ मन्त्रीमा एमालेले दलको उपनेता सन्तोष थापा शर्मा, प्रमुख सचेतक चक्र मल्ल, दमन भण्डारी र जानकी ऐर बमको नाम मुख्यमन्त्रीलाई पठाएको छ । 

सुझावित समाचार