निजामती कर्मचारीले पाउने सहुलियतपूर्ण स्वास्थ्य सेवा अब प्रदेशस्तरमै

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

निजामती कर्मचारी, अवकाशप्राप्त कर्मचारी र उनीहरूका आश्रित परिवारले निजामती कर्मचारी अस्पताल (सिभिल अस्पताल) बाट पाउँदै आएको छुट तथा सहुलियतसहितको स्वास्थ्य सेवा अब प्रदेशस्तरमै पाउने भएका छन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पहलमा प्रदेश अस्पतालहरूसँग यसका लागि सम्झौता सुरु गरिएको छ। 

पहिलो चरणमा मधेश प्रदेशका लागि नारायणी अस्पताल, वीरगन्ज र बागमती प्रदेशका लागि भरतपुर अस्पताल, चितवनबाट सेवा उपलब्ध हुने मन्त्रालयले जनाएको छ। आइतबार तीन अस्पतालसँग सम्झौता सम्पन्न भएसँगै सोमबारदेखि सेवा सञ्चालनमा आउने भएको छ। सेवा लिन निजामती कर्मचारी वा अवकाशप्राप्त निजामती कर्मचारीले निजामती कर्मचारी अस्पतालबाट जारी भएको आधिकारिक परिचयपत्र साथमा राख्नुपर्नेछ।

सामान्य प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार कर्मचारी तथा उनका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज, सुलभ र पहुँचयोग्य बनाउने उद्देश्यले यो व्यवस्था लागू गरिएको हो। अन्य प्रदेशका अस्पतालहरूको समेत सूचीकरण गरिसकेको र आवश्यक तयारी पूरा भएपछि छिट्टै देशभरका प्रदेश अस्पतालमार्फत सिभिल अस्पतालले उपलब्ध गराउँदै आएको स्वास्थ्य सेवा विस्तार गरिने मन्त्रालयले जनाएको छ।
 

सुझावित समाचार