कांग्रेस संसदीय दलको विवाद मिलाउन मन्त्री हेरफेर गरिँदै

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलभित्र देखिएको विवाद मिलाउन मन्त्रीहरू फेरबदल गर्न लागिएको छ । दलका नेतासमेत रहेका मुख्यमन्त्री कमलबहादुर शाहबाहेक कांग्रेसबाट मन्त्री बनेका सबैलाई फिर्ता बोलाएर दुवै पक्षबाट भागबन्डाका आधारमा नयाँलाई मन्त्री नियुक्त गर्ने सहमति भएको छ । 

सम्भवतः आजै र नभए भोलिसम्ममा मन्त्रीहरू फिर्ता बोलाएर नयाँ मन्त्री नियुक्त गर्ने तयारी छ । मुख्यमन्त्री शाहलाई हटाउन संसदीय दलमा नौजना सांसदले गत मंगलबार अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रदेश सभामा रहेका १८ मध्ये नौ सांसद विपक्षमा उभिएपछि मुख्यमन्त्री शाहको पद धरापमा परेको थियो ।

हस्ताक्षर गर्नेमध्येका सांसद रक्षा महराले त्यही दिन बेलुकी हस्ताक्षर फिर्ता लिएको घोषणा गरेपछि मुख्यमन्त्रीमाथिको संकट टरे पनि अन्य आठजना सांसद शाहलाई हटाउने अडानबाट पछि हटेका थिएनन् । दलको नेता चयनको प्रक्रिया अगाडि बढाउनुपर्ने माग गर्दै उनीहरूले मुख्यमन्त्री शाहले बुधबार बोलाएको दलको बैठकसमेत बहिष्कार गरेका थिए ।

संसदीय दलमा देखिएको विवाद समाधानका लागि नेपाली कांग्रेस केन्द्रले खटाएका पार्टीका सहमहामन्त्री उदयशमशेर राणा र केन्द्रीय सदस्य राजन केसीको उपस्थितिमा दुवै पक्षबिच भएको छलफलमा भागबन्डाका आधारमा मन्त्री नियुक्त गर्ने सहमति भएको हो । दलमा अविश्वासको प्रस्ताव गर्ने पक्षले दुई मन्त्री र एक राज्यमन्त्री लिने तथा मुख्यमन्त्रीले आफ्नो पक्षबाट एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गर्ने सहमति छ ।

मुख्यमन्त्री कायम राखेर मन्त्री फेरबदल गर्ने सहमति भएपछि संसदीय दलमा देखिएको विवाद तत्कालका लागि समाधान भएको अविश्वासको प्रस्तावको अगुवाइ गरेका सांसद दिवानसिंह विष्टले बताए । उनले आफ्नो पक्षबाट दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त हुने जानकारी दिए । ‘हामीले दुई मन्त्री र एक राज्यमन्त्री लिने सहमति हो । मन्त्री कसलाई बनाउने भन्नेबारे छलफल गरिरहेका छौँ,’ विष्टले भने, ‘अहिले दलको बैठक बस्दै छ । मुख्यमन्त्रीले नाम मागे आजै टुंग्याएर दिन्छौँ ।’ सहमतिअनुसार असन्तुष्ट पक्षबाट सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्त हुनेछन् । आर्थिक मामिला मन्त्रालय मुख्यमन्त्री शाह पक्षले यथावत् राख्ने सहमति छ । 

सरकारमा कांग्रेसबाट मेघराज खड्का सामाजिक विकासमन्त्री, बहादुरसिंह थापा आर्थिक मामिलामन्त्री, शिवराज भट्ट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री छन् । त्यस्तै, प्रकाशबहादुर बम आर्थिक मामिला राज्यमन्त्री र सरस्वती खड्का सामाजिक विकास राज्यमन्त्री छन् ।    

सांसद विष्ट, महरासहित मानबहादुर रावल, पदमबहादुर शाही, गीताकुमारी चौधरी, तुलसी देवकोटा, बेलबहादुर रानामगर, ललिता सुनार र जुनाकुमारी दानीले शाहविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका थिए । त्यसको नेतृत्व गरेका विष्टले भने आफू मन्त्री नबन्ने र समूहबाट अरूलाई पठाउने बताएका छन् । 

१८ सांसदमध्ये १५ सांसद निवर्तमान सभापति शेरबहादुर देउवा पक्षबाट र विष्टसहित तीनजना इतर समूहबाट निर्वाचित भएका थिए । शाहलाई मुख्यमन्त्रीबाट हटाउने विषयमा देउवा पक्षमै दुई धार देखिएको छ । कांग्रेसका १८ सांसदमध्ये प्रकाश देउवा लामो समयदेखि अमेरिकामा छन् । 

सुझावित समाचार