संरक्षण अभावमा प्रजातान्त्रिक योद्धा रामप्रसाद राईको सालिकसहितको स्मृति पार्क संकटमा

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

संरक्षण अभावका कारण प्रजातान्त्रिक योद्धा तथा क्रान्तिनायक रामप्रसाद राईको सालिकसहितको स्मृति पार्क संकटमा परेको छ।

खोटेहाङ गाउँपालिका– ७, खोटाङबजारस्थित ऐतिहासिक टुँडीखेल क्षेत्रमा करिब रु. ७९ लाख लागतमा निर्माण गरिएको उक्त पार्क तीन वर्ष नपुग्दै जीर्ण बनेको हो। कोशी प्रदेश सरकारको रु. ३० लाख र खोटेहाङ गाउँपालिकाको रु. ४९ लाख लगानीमा निर्माण गरिएको स्मृति पार्कमा पूर्णकदको सालिक, प्रतीक्षालय, बगैँचा, रेलिङ र अन्य संरचना निर्माण गरिएको थियो।

०८० फागुन ८ गते उद्घाटन गरिएको पार्क हाल संरक्षण अभावका कारण अव्यवस्थित बनेको छ। पार्कभित्र घेराबार, बत्ती, रेलिङलगायतका संरचना क्षतिग्रस्त भएका छन् भने फोहोर थुप्रिनुका साथै झारपातले क्षेत्र नै कुरूप बनेको स्थानीयले बताएका छन्।

स्थानीयवासीका अनुसार पार्क तोडफोडमा संलग्न व्यक्तिको पहिचान र कारबाहीमा सम्बन्धित निकायले ध्यान नदिएको भन्दै आलोचना बढेको छ। नजिकै इलाका प्रशासन र इलाका प्रहरी कार्यालय रहेको स्थानमै यस्तो अवस्था हुनु थप चिन्ताजनक विषय बनेको छ।

भगवती दीनानाथ माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमर बस्नेतले पार्क संरक्षणमा कसैले पनि अपनत्व नलिएको बताएका छन्। उनका अनुसार टुँडिखेललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्य भए पनि अहिले संरचना बिग्रँदै गएको छ।

यस पार्कको अवधारणा आर्थिक वर्ष ०७७/७८ मा विस्तृत परियोजना प्रतिवेदन (DPR) तयार गरी अघि बढाइएको थियो। तत्कालीन जनप्रतिनिधिहरूको पहलमा निर्माण सुरु गरिएको परियोजना वर्तमान नेतृत्वले पूर्णता दिई सञ्चालनमा ल्याएको हो।

ऐतिहासिक रूपमा टुँडिखेल खोटाङबजारको पुरानो प्रशासनिक केन्द्र पनि हो, जहाँ स्थानीय युवाले खेलकुदका लागि प्रयोग गर्दै आएका थिए। क्रान्ति नायक राईले राणाविरोधी आन्दोलनका क्रममा यस क्षेत्रमा नेतृत्वदायी भूमिका खेलेको इतिहासमा उल्लेख छ।

स्थानीय इतिहासअनुसार वि.सं. २००७ सालमा भोजपुर अड्डा कब्जामा उनको कमान्ड महत्त्वपूर्ण मानिन्छ। वि.सं. ०७५ मा नेपाल सरकारले उनको तस्बिरअंकित हुलाक टिकटसमेत प्रकाशन गरेको थियो।

क्रान्तिनायक रामप्रसाद राई वि.सं. १९६५ फागुन १८ गते भोजपुरको बासिखोरामा जन्मिएका थिए। राणा शासनविरुद्धको सशस्त्र संघर्षका क्रममा उनी पूर्वी नेपालको जनमुक्ति सेनाका प्रमुख कमान्डर मानिन्छन्। वि.सं. २००८ सालमा तत्कालीन सरकारद्वारा पक्राउ परेपछि उनी बेपत्ता रहेको इतिहासमा उल्लेख छ।

सुझावित समाचार