स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सरकारले अघि सारेका सयदिने कार्ययोजनामै केन्द्रित रहेर काम गरिरहेको प्रतिक्रिया दिएकी छिन्। आइतबार मन्त्रालयद्वारा आयोजित पत्रकार भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै मन्त्री मेहताले सयदिने कार्ययोजना र प्रधानमन्त्रीको निर्देशनअनुसार केन्द्रित भएर काम गरिरहेको बताएकी हुन्।
उनले मन्त्री बनेको ७२ दिनपछि पहिलो पत्रकार सम्मेलन गरेकी हुन्। तर, पत्रकार सम्मेलनमा उनले आफ्नो भनाइ भन्दा पनि सञ्चारकर्मीहरूको सुझाव र प्रश्न संकलन गरिन्।
‘यहाँहरूसँग सुझावहरू लिनुपर्ने थियो, केही ढिलो भयो। हामी सय बुँदालाई कसरी कार्यान्वयन गर्ने भन्नेमा केन्द्रित छाैँ, विशेषगरी सम्माननीयज्यूकै मुख्य निर्देशनअनुसार सय बुँदालाई कसरी पूरा गर्ने भनेर सबैजना उतातिर ‘फोकस’ भयौँ, पत्रकारहरूको पनि सल्लाहसुझाव लिनेतिर हाम्रो ध्यान नै गएन,’ मन्त्री मेहताले भनिन्, ‘अब १५ दिन वा एक महिनामा यहाँहरूसँग छलफलमा बस्नेछौँ, यसलाई निन्तरता दिनेछौँ, यो छलफल सुझावका लागि हो, यहाँहरूबाट आएका सुझाव संकलन गरेका छौँ, कमीकमजोर र राम्रो पक्षमा पनि ध्यान दिएर काम गरिरहेका छौँ ।’
मन्त्री मेहताले सयदिने बुँदामा अधिकांश कार्यसम्पादन भइसकेकासमेत जानकारी दिइन्। उक्त कार्यसम्पादनबारे चाँडै नै प्रेस विज्ञप्ति जारी गर्ने र पूरा भएका कामबारे जानकारी गराउने मन्त्री मेहताले बताइन्।